पीएल सिंह मेमोरियल टी-२० : भरतपुर र पोखराको सहज जित
काठमाडौँ, असार ६ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी ‘पीएल सिंह मेमोरियल टी-२० कप’ अन्तर्गत मंगलबार सम्पन्न खेलहरूमा भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाले सहज जित दर्ता गरेका छन् ।
भरतपुरको सानदार जित
प्रतियोगिताको दोस्रो खेलमा भरतपुर महानगरपालिकाले वीरगञ्ज महानगरपालिकालाई ७४ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको भरतपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रनको बलियो योगफल तयार पारेको थियो । भरतपुरका लागि तल्लो क्रममा आएका गौतम केसीले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४३ रन जोडे । यस्तै, ओपनर पवन थापाले ३१, रोशन झाले २१ र प्रतीक श्रेष्ठले १७ रनको योगदान दिए । बलिङतर्फ वीरगञ्जका विशाल पटेल र पवन सर्राफले समान २-२ विकेट लिए ।
१६८ रनको लक्ष्य पछ्याएको वीरगञ्ज १७.३ ओभरमा मात्र ९३ रनमा समेटियो । वीरगञ्जका सन्तोष कार्कीले २४ र मयन यादवले १८ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । वीरगञ्जलाई सस्तैमा समेट्न भरतपुरका सुभाष खत्रीले ३ तथा प्रतीक श्रेष्ठ र गौतम केसीले समान २-२ विकेट लिए । उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका गौतम केसी ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
पोखराको ९ विकेटको जित
आजै सम्पन्न तेस्रो खेलमा पोखरा महानगरपालिकाले विराटनगर महानगरपालिकामाथि ९ विकेटको सानदार जित निकाल्यो । टस जितेर ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ९९ रन बनाउन सक्यो । विराटनगरका ओपनर क्रिश शर्माले ५१ रनको अविजित अर्धशतकीय पारी खेले पनि अन्य ब्याटर चल्न सकेनन् । विराटनगरलाई धराशायी बनाउने क्रममा पोखराका स्पिनर विपिन खत्रीले घातक बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित मात्र २ रन खर्चेर ४ विकेट लिए ।
१०० रनको सामान्य लक्ष्य पोखराले १०.४ ओभरमा मात्र १ विकेट गुमाएर ५६ बल बाँकी छँदै पूरा गर्यो । पोखराका लागि दीपक डुम्रेले ३० बलमा ५ चौका र ४ छक्काको मद्दतले ५४ रनको अविजित योगदान दिए भने अर्जुन कुमाल ४२ रनमा अविजित रहे । घातक बलिङ गरेका विपिन खत्री खेलको ‘प्लेयर अफ दि म्याच’ चुनिए ।
सर्वाधिक धनराशिको प्रतियोगिता
आन्तरिक तवरमा आयोजना हुने क्रिकेटमध्ये यो हालसम्मकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज गरी ६ महानगरपालिकाका टोली सहभागी छन्, जसमा राष्ट्रिय टोली, नेपाल ‘ए’, यू-१९ र यू-१६ का खेलाडीहरूको सहभागिता रहेको छ ।
भोलि बुधबारको पहिलो खेल बिहान ९ बजे काठमाडौँ र वीरगञ्जबीच हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे ललितपुर र भरतपुरबीच हुने तालिका रहेको छ ।