कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ बनाइ ‘फ्लडलाइट’ जडान गरिने
काठमाडौँ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताउनुभएको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले उक्त रङ्गशालामा प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्रीले तीन ‘सिफ्ट’मा काम गरेर निर्धारित समयमा नै रङ्गशालालाई सुविधासम्पन्न बनाइने बताउनुभएको छ ।
“क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रङ्गशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौँ,” प्रधानमन्त्री ओलीले सञ्जालमा लेख्नुभएको छ, “आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ । अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्ने छ ।”
प्रधानमन्त्रीले क्रिकेट रङ्गशाला निर्माणका क्रममा पारस खड्कासहितका राष्ट्रिय खेलाडीहरुसँग छलफल गरेको बताउँदै रङ्गशालालाई विश्वस्तरको बनाइने उल्लेख गर्नुभयो । साथै उहाँले रङ्गशाला निर्माणको काम शीघ्र पूरा गर्न तथा सुझावसँगै खबरदारी गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।