पाल्पामा यसवर्ष सुन्तला उत्पादन उत्साहजन, ५२ करोडभन्दा बढीको कारोबार
पाल्पा, २२ माघ । पाल्पा जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा उत्साहजनक वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार यस वर्ष ९ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ, जुन गत वर्षको तुलनामा ३३७ मेट्रिक टनले बढी हो। गत वर्ष ८ हजार ८६१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।
उत्पादनसँगै बिक्रीमा पनि वृद्धि भएको छ। यस वर्ष ५२ करोड ७६ लाख ८४ हजार रुपैयाँ बराबरको सुन्तला बिक्री भएको छ। गत वर्ष ४६ करोड ७ लाख ७२ हजार रुपैयाँको सुन्तला बिक्री भएको थियो। यस वर्ष सुन्तला बिक्रीबाट ६ करोड ६९ लाख १२ हजार रुपैयाँ बढी आम्दानी भएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोषकुमार चौधरीले सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक उत्पादनमा आकर्षित भएको बताए। “पछिल्लो समय किसानहरू व्यावसायिक सुन्तला खेतीमा लागेका छन्, जसले उत्पादन क्षेत्र बढाएको छ र बजारीकरण पनि सहज भएको छ,” उनले भने।
जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा सुन्तला खेती विस्तार भएको छ। रैनादेवीछहरा गाउँपालिकामा ४५२ हेक्टर क्षेत्रफलमा ३ हजार ६३९ मेट्रिक टन, रिब्दिकोटमा ३९६ हेक्टरमा ३ हजार १८४ मेट्रिक टन, बगनासकालीमा ११३ हेक्टरमा ९१० मेट्रिक टन, पूर्वखोलामा ९० हेक्टरमा ७२८ मेट्रिक टन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा ५४६ मेट्रिक टन र माथागढीमा ११ हेक्टरमा ९१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ।
पाल्पामा सुन्तला उत्पादनका लागि १ हजार १९६ हेक्टर क्षेत्रफल छुट्याइएको छ, जसमध्ये १ हजार १३० हेक्टर क्षेत्रफलमा उत्पादन भइरहेको छ। जिल्लाका १० मध्ये ६ वटा पालिकामा व्यावसायिक रुपमा सुन्तला खेती गरिन्छ। अन्नबालीको तुलनामा सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू यस खेतीतर्फ आकर्षित भएका हुन्।