न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

लाहोर, २२ फागुन । न्युजिल्यान्डले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराएर च्याम्पियन्स ट्रफीको फाइनलमा स्थान बनाएको छ । न्युजिल्यान्डले भारतविरुद्ध दुबईमा उपाधि भिडन्त गर्नेछ ।

लाहोरमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजल्यान्डले निर्धारीत ५० ओभरमा छ विकेटको क्षतिमा ३६३ रनको स्कोर तयार पारेको थियो । प्रारम्भिक ब्याट्सम्यान रचिन रविन्द्रले १०१ बलमा १०८ र केन विलियम्सले ९४ बलमा १०२ रन बनाएपछि न्युजिल्यान्डले विशाल स्कोर बनाएको हो । २५ वर्षीय रविन्द्रको यो आइसीसी प्रतियोगतामा पाँचौँ शतक पनि हो ।

दक्षिण अफ्रिकाले जवाफमा नौ विकेटको क्षतिमा ३१२ रन मात्र बनाउनसक्यो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ६७ बलमा १०० नटआउटको अविस्मरणीय पालि खेले । मिलरले अन्तिम बलमा दुई रन लिएर शतक पूरा गरेका हुन् । दक्षिण अफ्रिकाका लागि रसी भान डर डुसेन (६९) र कप्तान टेम्बा बाभुमा (५६) ले अर्धशतकीय पालि खेले । तर न्युजिल्यान्डका कप्तान मिचेल सान्तनरले दस ओभरमा मात्र ४३ रन खर्ची तीन विकेट लिएपछि दक्षिण अफ्रिका लक्ष्यसम्म पुग्न सकेन ।

समूह चरणमा अपराजित दक्षिण अफ्रिका पनः एक पटक आइसीसी प्रतियोगिताको नकआउट चरणबाट बाहिरएको हो । एजेन्सी