रुस–युक्रेन युद्धमा मारिए रोल्पाको सुनछहरी गाउँपालिकाका पूर्ववडाध्यक्ष तिलक, किरिया गर्दै वृद्ध बुवा
काठमाडाैं, २७ फागुन । रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका तिर्खबहादुर बुढाथोकी (तिलक) को रुस र युक्रेनबीचको युद्धमा मारिएका छन् ।
रुसी सेनामा २०८० सालमा भर्ती भएका बुढाथोकी यही फागुन १३ गतेदेखि घरपरिवारको सम्पर्कबाट बाहिरिका थिए । फागुन २४ गते उनको मृत्यु भएको पुष्टि भएको हाे ।
मृत्यु भएपछि ७२ वर्षीय बुवा देवीलालले काजकिरिया सुरु गरेका छन्। हिन्दु परम्पराअनुसार उनका बुवा १३ दिन किरिया बस्नेछन्। उनको मृत्यु भएको यकिन मिति थाहा नभएको मृतकका दाइ खगेन्द्र बुढाथोकीले जानकारी दिए।
पूर्व वडाध्यक्षसमेत रहेका बुढाथोकीको मृत्युको खबरले गाउँ नै शोकमा डुबेको छ । सुनछहरी गाउँपालिका–५ वडाध्यक्ष देवीलाल रोका मगरले मृत्युको खबरले सबैलाई दुखित तुल्याएको बताए। “उहाँ स्थानीय नेता पनि हो, त्यसमाथि युवा। विदेशमा यसरी मृत्यु भएको घटनाले सबैलाई दुःखी बनाएको छ,” उनले भने।
तिर्खबहादुर २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार बने पनि पराजित भएका थिए।