काबुलमा आत्मघाती बम आक्रमण,९५ जनाको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलको मध्यभागमा गरिएको आत्मघाती बम हमलामा ज्यान गुमाउनेको संख्या ९५ पुगेको अधिकारीहरूले बताएका छन्। सो हमलामा १५० जनाभन्दा बढी घाइते भएका छन्। हमलाकारीहरूले विस्फोटक पदार्थले भरिएको एउटा एम्बुलेन्स चलाएर प्रहरीको जाँचचौकी पार गर्दै एक व्यस्त सडकमा पुर्‍याएर विस्फोटन गराएका थिए।

उक्त हमला पुरानो आन्तरिक मन्त्रालयको भवन र यूरोपेली संघ र उच्च शान्ति आयोगका कार्यालयहरू नजिकै भएको छ।तालेबान लडाकु समूहले आफूले उक्त हमला गराएको बताएको छ।

गत हप्ता तालेबान लडाकुहरूले काबुलमै रहेको एक होटलमा आक्रमण गर्दा २२ जना को ज्यान गएको थियो।प्रत्यक्षदर्शीहरूका अनुसार विदेशी दूतावासहरू तथा नगर प्रहरीको मुख्यालय रहेको सो क्षेत्रमा मानिसहरूको भीड भएका बेला आत्मघाती हमला भएको हो। घाइतेहरूलाई अस्पताल ल्याउने क्रम जारी रहेकाले मर्नेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।