इजरायली बन्धक परिवारको प्रधानमन्त्री नेतान्याहुलाई आग्रह: ‘गाजामा हत्या रोक्नुहोस्’
एजेन्सी, ५ चैत । गाजामा रहेका इजरायली बन्धकहरूका परिवारले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई तत्काल ‘बन्धकहरूको हत्या र बेपत्ता हुने काम रोक्न’ आग्रह गरेका छन्। इजरायलले जनवरीमा युद्धविराम गरेपछि गाजामा हालै घातक आक्रमण गरेको छ।
“आज बिहान बन्धकहरूका परिवारले प्रधानमन्त्री, रक्षामन्त्री र वार्ता टोलीका प्रमुखसँग तत्काल बैठकको माग गरेका छन्। उनीहरूले बन्धकहरूलाई सैन्य दबाबबाट कसरी जोगाउने र उनीहरूलाई फिर्ता ल्याउने विषयमा स्पष्ट जवाफ चाहन्छन्,” बन्धक एवं बेपत्ता परिवार मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। परिवारहरूले ‘बन्धकहरूको हत्या र बेपत्ता हुन रोक्नुहोस्, पहिले तिनीहरूलाई फिर्ता गर्नुहोस्, त्यसपछि अरू सबै कुरा गराैला ’ भन्दै माग गरेका छन्।
परिवारहरूले आज जेरुसेलममा नेतान्याहुको कार्यालय बाहिर विरोध प्रदर्शन गर्ने आह्वान गरेका छन्। इजरायलले जनवरी १९ मा युद्धविराम सुरु भएयता गाजामा तीव्र आक्रमण गरेको छ र सबै बन्धकहरू फिर्ता नहुँदासम्म लडाइँ जारी राख्ने बताएको छ।
परिवारहरूले सरकारले युद्धविरामको विस्फोटको योजना बनाएको र आफ्ना सदस्यहरूलाई जोखिममा पारेको आरोप लगाएका छन्। हमासले अक्टोबर २०२३ मा गरेको आक्रमणमा दुई सय ५१ जनालाई बन्धक बनाएको थियो, जसमध्ये ५८ जना अझै गाजामा छन्। इजरायली सेनाले तीमध्ये ३४ जनाको मृत्यु भएको घोषणा गरिसकेको छ।