पुलिसको अपराजित यात्रा समाप्त
काठमाडौँ, १४ चैत । प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बिच हुने भएको छ । आर्मी टिमले समूह चरणको अन्तिम दिन शीर्ष स्थानमा रहेको पुलिसलाई चार विकेटले हराएर फाइनलमा स्थान बनाएको हो । आर्मी टिमले शनिबार पुलिससँग नै फाइनल खेल्नेछ ।
यस प्रतियोगतामा पुलिसको यो पहिलो हार हो । यसैगरी प्रधानमन्त्री कपमा पुलिस क्लब १९ औँ खेलमा पराजित भएको हो । गत वर्ष नेपाल पुलिस क्लबले समूह चरणमा अपराजित रहने क्रममा नौ खेल जितेर फाइनलमा स्थान बनाएको थियो । पुलिस क्लबले फाइनलमा नेपाल आर्मी क्लबलाई नै छ विकेटले हराएर च्याम्पियन बनेको थियो ।
सन् २०२२ मा सन् २०२२ मा भएको प्रधानमन्त्री कपको सेमिफाइनलमा आर्मीसँग दुई विकेटले पराजित भएपछि पुलिस अपराजित यात्रामा थियो ।
भैरहवास्थित एक्स्ट्रा टेक्ट ओभलमा पहिले ब्याटिङ गरेको पुलिसले ४१.४ ओभरमा १४८ रन बनाएको थियो । आर्मीले ४१ ओभरमा छ विकेटको क्षतिमा १४९ रन बनाएर लक्ष्य हासिल गर्यो । म्यान अफ दि म्याच स्पीनर शाह आलमले दस ओभरमा ३१ रन खर्ची चार विकेट लिएपछि पुलिसको पालि सामान्य बनेको हो । आलमले अर्जुन साउद (१३ रन), आरिफ शेख (२२ रन), दिलिप नाथ (०) र करण केसी (०)लाई आउट गरे ।
जवाफमा आर्मीका लागि विवेक कुमार यादवले ४५ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ४१ रन बनाएर आउट भएनन् । यसैगरी तृतराज दासले २५, भीम सार्कीले २३ तथा सन्तोष कार्कीले २२ रनको उपयोगी पालि खेले । स्पीनर ललित राजवंशीले चार विकेट लिए । यस प्रतियोगिताका सर्वाधिक विकेटकर्ता ललितले नौ खेलमा ४० विकेट लिएका छन् ।बिहिबार भएको अर्को खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाइ चार विकेटले हरायो । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रङगशालामा पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २५९ रन बनाएको थियो । प्रारम्भिक ब्याट्सम्यान इशान पाण्डेले १२७ बलमा १४ चौकासहित ११४ रन बनाए । मधेशका लागि हरिशंकर साह, पवन सराफ र कप्तान अनिल साहले दुई÷दुई तथा रुपेश सिंह र विशाल पटेलले एक÷एक विकेट हात पारे । दोस्रो पालिमा कप्तान अनिलले मध्यक्रममा आएर ५३ बलमा सात चौका र दुई छक्कासहित ७० रन बनाएपछि मधेशले जित हात पार्यो । बागमतीका लागि सुर्य तामाङले दुई तथा रिजन, गौतम केसी, विपिन र इशानले एक÷एक विकेट लिए ।