विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनु पर्दैन : प्रधानमन्त्री
रुपन्देही २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरु आन्दोलनमा बसिरहनुनपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने खालको सरकार भएकाले शिक्षकहरू आन्दोलनमा रहिरहन नपर्नेमा जोड दिनुभएको हो ।
“समस्याहरु छन् तर सडकमा गइरहनुपर्ने थिएन । म शिक्षकहरुलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहान्छु । तपाईँहरुले आफ्ना समस्या मात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ ।’’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।