नेपाल–चीन सीमामा हिमताल विष्फोटपछिको वितण्डा: ८०० को मृत्यु, ३ हजारभन्दा बढी बेपत्ता

 

काठमाडौं । नेपाल र चीनको सीमा क्षेत्रमा हिमताल विष्फोटपछि आएको भीषण बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या झण्डै ८०० पुगेको छ । गत बुधबारको उक्त विनाशकारी प्राकृतिक विपद्पछि ३ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेका छन् ।

नेपाल र चीनको तिब्बत स्वायत्त क्षेत्रका अधिकारीहरूका अनुसार बेपत्ता हुनेको संख्या ३ हजार नाघेको छ । कतिपय शवहरू बगेर छिमेकी राष्ट्र भारतसम्म पुगेका छन् ।

जलविद्युत आयोजनामा ठूलो क्षति, ९०० मजदुर सुरुङभित्रै बेपत्ता

बाढीबाट सबैभन्दा बढी क्षति नेपालका जलविद्युत आयोजनाहरूमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का अनुसार रसुवा र नुवाकोट जिल्लामा सञ्चालित ११ वटा जलविद्युत आयोजनाका ९३३ मजदुरहरू सम्पर्कविहीन छन् ।

बेपत्ता हुनेहरूमा नेपाल, भारत, दक्षिण कोरिया र चीनका नागरिकहरू रहेका छन् । २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङभित्र धेरै मजदुर थुनिएको आशंका गरिएको छ । नेपाली सेनाको टोलीले त्यहाँबाट २५४ जनाको जीवितै उद्धार गरे पनि अझै धेरै मजदुर हिलो र लेदोले भरिएको सुरुङभित्रै फसेका छन् ।

२२ मेगावाटको चिलिमे जलविद्युत आयोजनामा पनि उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । “सुरुङभित्र हिलो भरिएकाले भित्र पस्न असम्भव देखिएको छ, हामी रक–क्लाइम्बिङ टोली परिचालन गर्ने तयारीमा छौं,” चिलिमेका कार्यकारी निर्देशक बाबुराज महर्जनले जानकारी दिए ।

मृतक र बेपत्ताको पछिल्लो विवरण

नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा मात्रै मृतकको संख्या ७८१ पुगेको छ । बेपत्ता २,४९८ जनामध्ये ५८९ विदेशी पर्यटक र १२७ नेपाली पथप्रदर्शक रहेका छन् । यस्तै खोजतलासकै क्रममा नेपाल प्रहरीका २७, सशस्त्रका १३ र नेपाली सेनाका ४५ जना सुरक्षाकर्मी पनि बेपत्ता छन् ।

उता चीनको तिब्बततर्फ ग्यारोङ (केरुङ) काउन्टीमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । चिनियाँ अधिकारीका अनुसार त्यहाँ २३ देशका २६१ विदेशी नागरिक बेपत्ता छन्, जसमा १०४ नेपाली र ४९ भारतीय रहेका छन् ।

‘थुनिएको ताल’ को जोखिम कायमै

बाढीका कारण नदीमा बनेको थुनिएको ताल (Barrier Lake) का कारण पुनः बाढी आउने डरले शुक्रबार केही समय उद्धार कार्य रोकिएको थियो । चिनियाँ अधिकारीहरूले स्याटेलाइट, राडार र ड्रोनमार्फत तालको निगरानी गरिरहेका छन् । जोखिम अझै टरिनसके पनि स्थिति नियन्त्रणमा रहेको र केही खतरा देखिए ३० मिनेट अगावै पूर्वसूचना दिने चिनियाँ पक्षले जनाएको छ ।

४ अर्ब डलरभन्दा बढीको क्षति

अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले यो विपद्बाट नेपाललाई ४ अर्ब डलर (करिब ५ खर्ब ३० अर्ब रुपैयाँ) भन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरेका छन् । सडक, पुल र पूर्वाधारहरू ध्वस्त भएका कारण दुर्गम क्षेत्रमा राहत पुर्‍याउन कठिन भइरहेको छ ।

नेपाल सरकारले उद्धार र खोजी कार्यलाई तीव्रता दिन भारत र चीनसँग विशेष प्राविधिक सहयोग मागेको छ । हालसम्म १९ हजार सुरक्षाकर्मी र १६ वटा हेलिकप्टर उद्धारमा परिचालन गरिएका छन् ।

अन्तर्राष्ट्रिय सहयोगको ओइरो

विपद्को यो घडीमा विभिन्न देश र दातृ निकायले सहयोगको घोषणा गरेका छन् । संयुक्त राष्ट्रसंघले २५ लाख डलर, बेलायतले ६८ लाख डलर, अमेरिका र क्यानडाले ३६–३६ लाख डलर सहायता घोषणा गरेका छन् । यस्तै युरोपियन युनियनले २३ लाख डलर र रेडक्रसले करिब १० लाख डलर सहयोग उपलब्ध गराउने भएका छन् । चीनले २२ करोड युआन राहत प्याकेज घोषणा गर्दै २,१०० उद्धारकर्मी परिचालन गरेको छ ।

जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढेको जोखिमले नेपालजस्ता देशहरूले भारी मूल्य चुकाउनु परेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।(स्रोतः अलजाजिरा)