राष्ट्रपति पौडेल र अजरबैजानका उपविदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलसँग गणतन्त्र अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले आज शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो। राष्ट्रपति पौडेलले नेपाल र अजरबैजानबीचको सम्बन्धमा नयाँ प्रगति भएकोमा प्रसन्नता व्यक्त गर्दै सहकार्यका सम्भावित क्षेत्रहरू पहिचान गरी मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले अजरबैजानमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) मा आफ्नो सहभागिताको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा उपविदेशमन्त्री मामेडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणले दुई देशको सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभयो । उहाँले विगत ३० वर्षदेखि दुई देशबीच कुनै समझदारीपत्रमा हस्ताक्षर हुन नसकेको उल्लेख गर्दै अब चाँडै नै कुनै न कुनै समझदारीपत्रमा हस्ताक्षर गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिनुभयो ।