सेयर बजारमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम भने ९ अर्बमाथि
काठमाडौँ, २५ जेठ । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अङ्कले घटेको छ। आज नेप्से ११.०६ अङ्कले ओरालो लाग्दै २,०६६.८९ को बिन्दुमा बन्द भएको हाे।
बजार घटे पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। आज ३१३ कम्पनीका १ करोड ९९ लाख कित्ताभन्दा बढी सेयर किनबेच हुँदा कुल रु. ९ अर्ब १३ करोड बराबरको कारोबार भएको छ।
अधिकांश समूहमा गिरावट, जलविद्युत् र होटलमा सामान्य वृद्धि
आज कारोबारमा आएका १३ वटा समूहगत उपसूचकमध्ये दुईवटा बाहेक सबैमा गिरावट आएको छ। जलविद्युत् समूह १.२२ प्रतिशत र होटल तथा पर्यटन समूह ०.१२ प्रतिशतले बढेका छन्।
विपरीत, बैंकिङ समूह १.०५ प्रतिशत, निर्जीवन बिमा समूह ०.९५ प्रतिशत, र वित्त समूह ०.९१ प्रतिशतले घटेका छन्। त्यसैगरी, उत्पादन, लघुवित्त, जीवन बिमा लगायतका अन्य समूहहरू पनि राताम्मे देखिए।
राधी विद्युत् कम्पनी लिमिटेडले आज सबैभन्दा धेरै रु. ७२ करोड ९५ लाख बराबरको कारोबार गरेकाे छ । ङादी ग्रुप पावर लिमिटेडको सबैभन्दा धेरै १५ लाख ४७ हजार कित्ता सेयर किनबेच भयो।
सर्वाधिक कमाउनेमा रिभर फल्स पावर लिमिटेड र पिअर इनर्जी लिमिटेड रहेका छन् । उक्त शेयरमा सकारात्मक सर्किट लागेकाे छ । साथै ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।