चार दिन घटेकाे सेयर बजारमा आज सुधार, जलविद्युत् समूहको दबदबा कायमै
काठमाडौँ, २६ जेठ । लगातार चार कारोबार दिनको घटेकाे सेयर बजारले सोमबार सकारात्मक मोड लिएको छ। बजार परिसूचक नेप्से २३.१९ अंकले बढेर २६५३ विन्दुमा पुगेको हाे।
दिनभर हरियो रहेको बजारमा जलविद्युत् कम्पनीहरूले लगानीकर्तालाई आकर्षित गर्न सफल भएका छन्। बजार बढे पनि कारोबार रकममा भने गिरावट आएको छ। अघिल्लो दिन रु. ९ अर्ब १३ करोडको कारोबार भएकोमा आज घटेर रु. ८ अर्ब ६८ करोडमा सीमित भयो। कुल १९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ कम्पनीको घट्यो भने एक कम्पनीको मूल्य स्थिर रह्यो।
जलविद्युत् क्षेत्रको वर्चस्व
आजको बजारमा जलविद्युत् समूहको आकर्षण पुनः एकपटक पुष्टि भयो। यो समूहको उपसूचक २.३५ प्रतिशतले बढ्यो। अन्य समूह सबैभन्दा धेरै २.६३ प्रतिशतले उकालो लाग्यो। बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी, उत्पादन र निर्जीवन बीमा लगायतका अधिकांश समूह सकारात्मक रहे भने व्यापार, जीवन बीमा र होटल तथा पर्यटन समूहमा भने सामान्य गिरावट देखियो।
यी कम्पनीको मूल्यमा उछाल
आज चारवटा जलविद्युत् कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर र विन्ध्यवासिनी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो।
मूल्य सर्वाधिक बढ्ने शीर्ष १० कम्पनीमध्ये ८ वटा जलविद्युत् कम्पनी नै परे। बुटवल पावरको ९.८३ प्रतिशत, मायाखोला हाइड्रोपावरको ९.७४ प्रतिशत, र रावा इनर्जीको ९.१८ प्रतिशतले मूल्य बढेको छ।
धेरै कारोबार र गुमाउनेहरू
कारोबार रकमका आधारमा आज राधी विद्युत्, युनिभर्सल पावर, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सीईडीबी होल्डिङ्स क्रमशः शीर्ष स्थानमा रहे। यता, भूगोल इनर्जी, मिथिला लघुवित्त र सप्तकोशी विकास बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाए।