शिक्षक आन्दोलनले गर्दा ढिलाइ भएकाे एसईईको नतिजा असार तेस्रो साता आउने

काठमाडौं, ३ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुँदा नतिजा प्रकाशन पछि सरेको हो।
नियमित तालिकाअनुसार नतिजा असारको पहिलो सातामै आउनुपर्ने थियो। तर, गत चैत २० गतेदेखि शिक्षकहरूले गरेको २९ दिन लामो आन्दोलनले उत्तरपुस्तिका परीक्षणको काम प्रभावित बन्यो। बोर्डका अनुसार हाल उत्तरपुस्तिका परीक्षणको काम अन्तिम चरणमा पुगेको छ।

परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले उत्तरपुस्तिका परीक्षण, तथ्याङ्क प्रविष्टि (इन्ट्री) र रुजुको कामलाई तीव्रता दिइएको बताउनुभयो। “कर्मचारीहरू बिहानदेखि बेलुकासम्म खटिएर काम गरिरहनुभएको छ। सबै परीक्षण सकेर त्रुटिरहित नतिजा प्रकाशन गर्ने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो।

यस वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सुरु भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ जना विद्यार्थी सहभागी थिए।