इन्द्रजात्राका लागि इन्द्रध्वजको प्रतीक यंःसिं भोटाहिटी पुर्याइयो, शनिबार हनुमानढोका प्रवेश गराइने
काठमाडौँ । ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्राका लागि इन्द्रध्वजोत्थान (लिङ्गो गाड्न) प्रयोजनका लागि नाला सामुदायिक वनबाट काटिएको सल्लाको रुख (इन्द्रध्वजको प्रतीक) काठमाडौँको भोटाहिटी ल्याइएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको शुभसाइतअनुसार भदौ २८ गते आइतबार बिहान ९:५३ बजे वन यात्रा गरी गएको गुठी संस्थान र मानन्धर समुदायको टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित नाला सामुदायिक वनबाट सल्लाको रुख काटेर भोटाहिटी पुर्याएको हो।
तान्त्रिक विधि र बलि पूजापछि लिङ्गो कटान
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकै साइतअनुसार भदौ २८ गते आइतबार राति ८:४७ बजे तान्त्रिक विधिपूर्वक पूजाआजा गरी बोकाको बलि दिएर रुख काटिएको थियो। रुख काट्नुअघि तरबार, खड्ग र स्वयम् रुखको समेत विशेष पूजा गर्ने प्राचीन परम्परा रहेको छ।
गुठी संस्थानका कर्मचारी रमेश काफ्लेका अनुसार काठमाडौँको इन्द्रजात्रा र भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि सोही नाला सामुदायिक वनबाट सल्लाको रुख ल्याउने परम्परा छ। इन्द्रजात्राको लिङ्गोका लागि सामुदायिक वनसँग औपचारिक सम्झौता गरिन्छ भने बिस्केट जात्राका लागि भने बोलपत्र (ट्यान्डर) आह्वान गर्ने व्यवस्था रहेको संस्थानले जनाएको छ।
असोज ३ गते नगर प्रवेश गराइने
भोटाहिटीमा राखिएको उक्त इन्द्रध्वजको प्रतीकलाई आगामी असोज ३ गते शनिबार बिहान ८:०५ बजेको शुभसाइतमा बाजागाजासहित नगर प्रवेश गराइनेछ।
सांस्कृतिक परम्पराअनुसार इन्द्रध्वजको प्रतीकलाई भोटाहिटीबाट तानेर हनुमानढोका दरबार क्षेत्रस्थित नासलचोक अगाडि पुर्याउनुलाई ‘नगर प्रवेश’ भन्ने गरिन्छ। असोज असोज शुक्ल द्वादशीका दिन हनुमानढोका परिसरमा यो लिङ्गो ठड्याएपछि (इन्द्रध्वजोत्थान गरेपछि) काठमाडौँ उपत्यकाको प्रसिद्ध आठदिने इन्द्रजात्रा पर्व औपचारिक रूपमा सुरु हुन्छ।
