युवा लक्षित लगानी र जलवायुमैत्री शासनमा जोड, नीति निर्माणमा पहुँच सुनिश्चित गर्न माग

काठमाडौँ, १६ असार । युवा तथा जलवायुको क्षेत्रमा क्रियाशील संघसंस्था र युवा अभियन्ताहरूले सरकारका तीनै तहमा युवा लक्षित लगानी बढाउन र जलवायुमैत्री स्थानीय शासन प्रणालीको विकास गर्न जोडदार माग गरेका छन् ।

उनीहरूले जलवायु परिवर्तन र वातावरणीय नीति निर्माण प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न पनि आग्रह गरेका हुन् ।

जागृति बाल तथा युवा सरोकार नेपालले ब्रिटिस काउन्सिल नेपालसँगको सहकार्यमा आयोजना गरेको ‘युवा जलवायु तथा समावेशी शासन प्रवर्द्धन’ सम्बन्धी एक कार्यक्रममा युवाहरूले यस्तो माग राखेका हुन् ।

गण्डकी र लुम्बिनी प्रदेशका युवा अभियन्ताहरूले विद्यमान युवामैत्री संरचनाहरूको प्रभावकारी कार्यान्वयनका लागि थप स्रोत र लगानी परिचालन गर्न आवश्यक रहेको बताए । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य माननीय सूर्य ढकालले युवाहरूको विकास र उद्यमशीलताप्रति सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले विपद् सूचना प्रणालीलाई व्यवस्थित गर्ने र विद्यालयको पाठ्यक्रममा विपद् व्यवस्थापनको विषय समावेश गर्ने योजना रहेको जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. सुदीप ठकुरीले जलवायु अनुकूलन र समावेशी विकासका लागि युवा नेतृत्व अपरिहार्य रहेको बताउँदै युवाहरूलाई सशक्त भएर अभियानमा लाग्न आग्रह गर्नुभयो । त्यस्तै, ब्रिटिस काउन्सिल नेपालका कार्यक्रम व्यवस्थापक केवल श्रेष्ठले युवालाई ज्ञान र सीप दिएर परिवर्तनको संवाहक बनाउनुपर्नेमा जोड दिनुभयो ।

गैरसरकारी संस्था महासंघ नेपालकी वरिष्ठ उपाध्यक्ष नानीमाया थापाले युवाहरूमा लगानी बढाउन सरकारलाई अपिल गर्नुभयो भने राष्ट्रिय प्रकृति संरक्षण कोषका गोविन्दप्रसाद पोखरेलले वातावरण संरक्षणमा युवाहरूसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले बालमैत्री, युवामैत्री, लैङ्गिकमैत्री र वातावरणमैत्री अभियानहरूलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउँदै दिगो विकास, हरित अर्थतन्त्र र उद्यमशीलतामा जोड दिनुभयो । युवा अभियन्ताहरू आसमा अर्याल, रिता थापा, युवराज चापागाईँ लगायतले स्थानीय स्तरमा आफूहरूले गरेका वातावरणीय संरक्षण र दिगो विकासका कामबारे अनुभव सुनाएका थिए ।