बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिना कैद, ‘मानवता विरुद्धको अपराध’ को मुख्य मुद्दा पनि विचाराधीन
काठमाडौँ, १८ असार । बंगलादेशको एक विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ।
यो फैसला त्यतिबेला आएको हो, जतिबेला उहाँमाथि सन् २०२४ को जनविद्रोहका क्रममा भएको सामूहिक हत्याको मुख्य योजनाकार भएको आरोपमा ‘मानवता विरुद्धको अपराध’ जस्तो गम्भीर मुद्दा पनि चलिरहेको छ।
ढाका ट्रिब्युनका अनुसार, अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) को तीन सदस्यीय इजलासले मंगलबार यो फैसला सुनाएको हो। न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको नेतृत्वमा रहेको इजलासले सोही मुद्दामा गाइबान्धाका शाकिल आकन्द बुलबुललाई पनि दुई महिनाको कैद सजाय तोकेको छ।
यो अवहेलनाको मुद्दाभन्दा पनि हसिनामाथि लागेको मुख्य आरोप भने निकै गम्भीर छ। अभियोजन पक्षले उहाँलाई सन् २०२४ को जुलाई-अगस्टमा भएको विद्यार्थी नेतृत्वको आन्दोलनलाई हिंसात्मक रूपमा दमन गर्ने र सामूहिक हत्याको आदेश दिने प्रमुख व्यक्ति भएको आरोप लगाएको छ।
मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामको टोलीले बुझाएको आरोपपत्रअनुसार, हसिना ती हिंसात्मक दमनहरूको प्रमुख योजनाकार हुन्। गत जुन महिनामा आईसीटीले उहाँमाथि औपचारिक रूपमा ‘मानवता विरुद्धको अपराध’ को आरोप दर्ता गरेको थियो।
विद्यार्थी आन्दोलन चर्किएपछि गत अगस्ट ५, २०२४ मा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। हजारौँ प्रदर्शनकारीले कर्फ्यु तोडेर सडकमा उत्रिएपछि उहाँले ढाकास्थित आफ्नो निवास छाडी भारतमा निर्वासित जीवन बिताइरहनुभएको छ।