सामाजिक सञ्जाल टेलिग्रामबाट अपराधिक गतिविधि बढेको भन्दै बन्द गर्ने तयारी
काठमाडौं, १ साउन। सरकारले सामाजिक सञ्जाल टेलिग्राममाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ।
सम्पत्ति शुद्धीकरण र ठगी जस्ता अपराधिक गतिविधिमा यसको दुरुपयोग बढेको भन्दै प्रधानमन्त्री कार्यालय अन्तर्गतको राष्ट्रिय समन्वय समितिले यसलाई बन्द गर्न प्रक्रिया थालेको हो।
समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखी कारबाही अघि बढाउन निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले पत्र प्राप्त भएको र यस विषयमा सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीसँग परामर्श गरेर निर्णय लिइने बताएका छन्।
नेपाल प्रहरीका प्रमुख आईजीपी दिपक थापाले हालैको एक बैठकमा अनलाइनमार्फत हुने अधिकांश अपराध टेलिग्रामसँग जोडिएको जानकारी गराएपछि सरकारले यो कदम चालेको हो। यसअघि सिटिजन्स बैंकको रकम चोरी प्रकरणमा पनि ह्याकरले टेलिग्रामको प्रयोग गरेका थिए।