भोटेकोशी बाढी : बाँकेका २७ जना सम्पर्कविहीन, खोजीका लागि आग्रह

काठमाडौँ, भदौ १२ । सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोट आसपासको क्षेत्रमा रहेका बाँकेका २७ जना व्यक्तिहरू सम्पर्कविहीन भएका छन् । कामको सिलसिलामा तथा तीर्थाटनका लागि त्यस क्षेत्रमा पुगेका उनीहरू बाढीपछि परिवार र प्रशासनको सम्पर्कमा नआएका हुन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार सम्पर्कविहीन हुनेहरूमा १४ पुरुष र १३ महिला रहेका छन् । बेपत्ता भएका व्यक्तिका परिवारजनले स्थानीय प्रशासनलाई खोज तथा उद्धारका निम्ति निवेदन दिएपछि यो तथ्याङ्क सार्वजनिक भएको हो ।

सम्पर्कविहीन भएका २७ जनामध्ये २० जना बाँकेका स्थायी बासिन्दा हुन् । बाँकीमध्ये पाँच जना अन्य जिल्लाबाट आई बाँकेमा बसोबास गरिरहेका र दुई जना भारतीय नागरिक रहेको प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार ती व्यक्तिहरू रसुवा भन्सार कार्यालय, विभिन्न सुरक्षा निकाय, जलविद्युत् आयोजना तथा गोसाइकुण्ड क्षेत्रमा व्यवसाय गरिरहेका थिए । कतिपय भने कैलाश मानसरोवर तीर्थयात्राका क्रममा त्यस क्षेत्रमा रहेका बेला सम्पर्कविहीन हुन पुगेका हुन् ।

स्थानीय प्रशासनले सम्बन्धित निकायहरूसँग समन्वय गरी बेपत्ताहरूको खोजी कार्यलाई तीव्रता दिन पहल गरिरहेको जनाएको छ ।