भोटेकोशी बाढी अपडेट : मृतकको सङ्ख्या ४६९ पुग्यो
काठमाडौँ, १२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६९ पुगेको छ । नेपाल प्रहरीले आज (शुक्रबार) बिहान ७:०० बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार विभिन्न आठ जिल्लाका नदी तटीय क्षेत्रमा गरी हालसम्म ४६९ जनाको शव फेला परेको हो ।
बाढीको तीव्र बहावले बगाएर ल्याएका शवहरू रसुवाभन्दा धेरै तल्लो तटीय जिल्लाहरूमा फेला पर्ने क्रम जारी छ ।
प्रहरी बुलेटिनअनुसार फेला परेका शवहरूको जिल्लागत विवरण यसप्रकार छ :
चितवन : १७८ जना, नवलपरासी पूर्व : ११० जना, गोरखा : ४४ जना, नुवाकोट : ३७ जना, धादिङ : ३३ जना, तनहुँ : २८ जना, नवलपरासी पश्चिम : २७ जना, रसुवा : १२ जना भेटिएका हुन् ।
अझै ठुलो सङ्ख्यामा मानिसहरू बेपत्ता रहेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन् । नदी किनारका क्षेत्रहरूमा दैनिक रूपमा शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने सुरक्षा निकायले जनाएको छ ।
प्रहरीले फेला परेका शवहरूको पहिचान (सनाखत) का लागि क्युआर कोड र हुलियासहितको डिजिटल सूची सार्वजनिक गर्दै आफन्तहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ ।