तीन महिनामा विपद्का २३ सय घटनाः १०२ जनाको मृत्यु, २० बेपत्ता
काठमाडौँ, ६ साउन । गत वैशाखदेखि साउन ५ गतेसम्मको करिब तीन महिनाको अवधिमा देशभर २ हजार ३२६ वटा विपद्जन्य घटना भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, ती घटनामा परी १०२ जनाको मृत्यु भएको छ भने २० जना अझै बेपत्ता रहेका छन्। विपद्का कारण ५१२ जना घाइते भएका छन् र ४ हजार ३२३ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार मनसुनजन्य विपद्ले ठूलो क्षति पुर्याएकाे छ। बाढीका १५१ घटनामा १३ जनाको मृत्यु भएको छ भने रसुवा बाढीका कारण बेपत्ता भएका २० जना अझै फेला परेका छैनन्।
यसैगरी, पहिरोका २०२ घटनामा ९ जना र भारी वर्षाका १०३ घटनामा २ जनाले ज्यान गुमाएका छन्।
मनसुनबाहेक अन्य विपद्का घटना पनि उत्तिकै भयानक देखिएका छन्। यस अवधिमा सबैभन्दा बढी २८ जनाको मृत्यु चट्याङ लागेर भएको छ। त्यस्तै, आगलागीका ९७६ घटनामा १४ जना, जनावर आक्रमणबाट १२, लेक लागेर ११ र हुरीबतासका कारण ८ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्क छ। सर्पदंशबाट पनि ५ जनाको मृत्यु भएको छ।
यी विपद्जन्य घटनाले भौतिक सम्पत्तिमा पनि ठूलो नोक्सानी पुऱ्याएको छ। सबैभन्दा बढी आगलागीबाट १,०८९ र बाढीबाट १,२५४ परिवार प्रभावित भएका छन्। त्यस्तै, हुरीबतास, भारी वर्षा, पहिरो र चट्याङ जस्ता घटनाले पनि सयौँ परिवारलाई प्रभावित बनाएको प्राधिकरणले जनाएको छ।