कार्यवाहक प्रमुख सुनिता डङ्गोलकाे मौलिक नेवारी वास्तुशैली जोगाउने अभियान: भद्रकाली मन्दिर परम्परागत शैलीमा ठडिँदै

काठमाडौँ, ३ भदौ । काठमाडौँको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण कार्यले तीव्रता पाएको छ । वि.सं. २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेका संरचनाहरूलाई काठमाडौँ महानगरपालिकाले मौलिक नेवारी वास्तुशैलीमा पुनर्निर्माण गरिरहेको हो ।

गत २०८१ असारदेखि सुरु भएको यो परियोजनाअन्तर्गत मुख्य मन्दिरका साथै आसपासका पाटी र सत्तलहरूको समेत जीर्णोद्धार एवं पुनर्निर्माण भइरहेको छ ।

महानगरपालिकाका अनुसार मन्दिर परिसरको पुनर्निर्माणको जिम्मेवारी तुल्सी–अम्बुजा जेभीले पाएको छ । कुल ३४ करोड ८० लाख ७१ हजार रुपैयाँको लागतमा आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस क्रममा मन्दिरको ऐतिहासिकता नमेटियोस् भन्नका लागि पुरातत्त्व विभागले पुराना संरचना र शिल्पको अभिलेखन गरिरहेको छ ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका सिभिल इन्जिनियर रवीन्द्र रिजालका अनुसार नयाँ संरचनामा परम्परागत निर्माण सामग्रीको प्रयोगलाई प्राथमिकता दिइएको छ । मन्दिरमा काष्ठकलामा कुँदिएका बुट्टेदार ढोका, झ्याल र थामहरू प्रयोग गरिनेछ ।
छाना: मन्दिर र सत्तलको छानामा परम्परागत झिँगटी राखिनेछ । निर्माणाधीन सबै भवनहरूको कुल क्षेत्रफल करिब ३९ हजार वर्गफिट रहनेछ । उत्तरतर्फ भृकुटीमण्डप क्षेत्रमा दुईवटा र दक्षिणतर्फ तीनवटा ब्लकहरू निर्माण गरी परिसरलाई व्यवस्थित बनाइनेछ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भद्रकाली मन्दिरको पुनर्निर्माण केवल पूर्वाधार विकास मात्र नभई काठमाडौँको पहिचान जोगाउने अभियान भएको बताउनुभयो । “यो हाम्रो सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण र निरन्तरतासँग जोडिएको महत्त्वपूर्ण कार्य हो,” उहाँले भन्नुभयो ।

पुनर्निर्माण कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतको नेतृत्वमा एक सहजीकरण समिति गठन गरिएको छ । समितिमा स्थानीय वडा अध्यक्षहरू, मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि, पुरातत्त्व विभाग र गुठी संस्थानका सदस्यहरू रहेका छन् । समितिको सदस्य सचिवमा महानगरको सम्पदा विभागकी प्रमुख कुमारी राई रहनुभएको छ ।

यो पुनर्निर्माण सम्पन्न भएपछि भद्रकाली मन्दिर परिसर काठमाडौँको एक प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा थप सुदृढ हुने र यसको मौलिक स्वरूपले भावी पुस्तालाई हाम्रो इतिहासको बोध गराउने विश्वास लिइएको छ ।