सिद्धबाबामा पहिरोले सिद्धार्थ राजमार्ग पूर्ण रूपमा ठप्प, यात्रुहरू बीच बाटोमै अलपत्र

पाल्पा, ३ भदौ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा पहिरो खसेपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । अविरल वर्षासँगै सडक माथिबाट खसेको ढुङ्गा, माटो र लेदोले राजमार्ग पुरिएपछि सवारी आवागमन ठप्प भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका–३ स्थित निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फको प्रवेश विन्दुभन्दा करिब १०० मिटर उत्तरमा पहिरो खसेको हो । आज बिहान ७:०० बजेको समयमा ठुलो परिमाणमा पहिरो खसेपछि राजमार्गको सम्पर्क विच्छेद भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहे पनि निरन्तर लेदो र ढुङ्गा झरिरहेकाले काम सुरु गर्न नसकिएको जानकारी दिनुभयो । “पहिरो झरिरहेकाले तत्काल मेशिन लगाएर सडक सफा गर्न जोखिमपूर्ण छ, स्थिति हेरेर मात्र काम अघि बढाउँछौँ,” उहाँले भन्नुभयो ।

राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाडतर्फ जाने र पहाडी जिल्लाबाट बुटवल झरेका सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन् । यो मार्ग अवरुद्ध हुँदा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की (पोखरा), पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लाहरूको यातायात सम्पर्क प्रभावित भएको छ ।

प्रहरी प्रशासनले पहिरो प्रभावित क्षेत्रमा अनावश्यक रूपमा आवतजावत नगर्न र सडक नखुलेसम्म यात्रु तथा चालकहरूलाई सुरक्षित स्थानमा रहन विशेष अनुरोध गरेको छ ।