बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता झिक्दै राष्ट्र बैंक: आज ३ बजेसम्म बोलकबोल, फागुनमा फिर्ता हुने
काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता (लगानीयोग्य रकम) व्यवस्थापन गर्न थप ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैंकले बुधबार एक सूचना जारी गर्दै १८० दिन (६ महिना) अवधिको निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो।
राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज अपराह्न ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत आफ्नो बोलपत्र पेस गर्नुपर्नेछ। निक्षेप सङ्कलन उपकरणको निष्कासन पनि आजै गरिने बैंकले जनाएको छ।
यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ। निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी फागुन ३ गते गरिनेछ। बोलकबोलमा सहभागी हुन चाहने बैंकहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको सीमासम्म (१० करोडले भाग जाने अङ्कमा) आवेदन दिन सक्नेछन्।
सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ। यदि समान ब्याजदरमा मागभन्दा बढी आवेदन परेमा ‘प्रो–राटा’ (आनुपातिक) आधारमा बाँडफाँट गरिनेछ।
बोल स्वीकृत भएको संस्थाको खातामा उपकरण निष्कासनका दिन पर्याप्त रकम नभएमा त्यस्तो संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन प्रतिबन्ध लगाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
सङ्कलित निक्षेप रकमलाई सम्बन्धित बैंकको लगानी पोर्टफोलियोका रूपमा गणना गर्न पाइनेछ। यसलाई अनिवार्य नगद मौज्दात मा राख्न नपाइने भए पनि वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।
बैंकहरूमा निक्षेप थुप्रिने तर कर्जाको माग सुस्त हुने अवस्था देखिएपछि राष्ट्र बैंकले बजारमा ब्याजदर धेरै तल झर्न नदिन निरन्तर तरलता प्रशोचन (पैसा झिक्ने) कार्य गरिरहेको छ।