बंगलादेशमा स्कुलमाथि विमान दुर्घटना: २७ को मृत्यु, राष्ट्रिय शोक घोषणा

ढाका, ६ साउन । बंगलादेशको एक स्कुलमा प्रशिक्षणमा रहेको लडाकु विमान दुर्घटना हुँदा २५ बालबालिकासहित २७ जनाको दुःखद मृत्यु भएको छ। यो दशककै सबैभन्दा घातक हवाई दुर्घटनापछि बंगलादेशमा राष्ट्रिय शोकको घोषणा गरिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, चिनियाँ निर्मित एफ–७ बीजेआई विमान राजधानी ढाकास्थित माइलस्टोन स्कुल एन्ड कलेजमा खसेको थियो। दुर्घटनामा २५ जना बालबालिका, विमानका पाइलट र अर्का एक जना गरी २७ जनाको मृत्यु भएको हो। दुर्घटनामा १७० भन्दा बढी घाइते भएका छन् र ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सेनाका अनुसार, पाइलट तौकीर इस्लाम नियमित प्रशिक्षण उडानमा थिए। विमानमा प्राविधिक समस्या आएपछि उनले विमानलाई घना बस्तीबाट टाढा लैजाने प्रयास गरेका थिए, तर अन्तिममा दुईतले स्कुल भवनमा ठोक्किन पुग्यो।

घटनापछि स्कुल परिसर शोकमग्न छ र कक्षाहरू रद्द गरिएका छन्। एक शिक्षकले भने, “विमान दुर्घटना भएको ठाउँमा बालबालिकाहरू खेल्ने गर्थे। स्कुलले आफ्ना बालबालिकासँगै ज्यान गुमाएको छ।”

बंगलादेशका अन्तरिम नेता मुहम्मद युनुसले घटनाप्रति ‘गहिरो दुःख’ व्यक्त गर्दै एकदिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ। उहाँले यो क्षतिलाई ‘अपूरणीय’ र राष्ट्रका लागि ‘गहिरो पीडाको क्षण’ भन्नुभएको छ।

सेनाले घटनास्थलमा उद्धार तथा सफाइ कार्य जारी राखेको छ र दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ।