बीपी राजमार्गमा रात्रिकालीन यात्रामाथिको प्रतिबन्ध भदौ १५ सम्म लम्बियो
काभ्रेपलाञ्चोक, ३० साउन। काभ्रेपलाञ्चोक र सिन्धुली जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्गमा राति सवारी चलाउन लगाइएको रोकलाई निरन्तरता दिएका छन्।
मनसुनजन्य विपद्, विशेषगरी बाढीपहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै यो प्रतिबन्ध आगामी भदौ १५ गतेसम्मका लागि लम्ब्याइएको हो।
काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार, भदौ १५ गतेसम्म हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा निजी तथा सार्वजनिक सबै प्रकारका सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
“देशभर मनसुन सक्रिय रहेकाले जुनसुकै बेला भारी वर्षा भई बाढी र पहिरो जान सक्ने खतरा छ,” सहायक प्रजिअ श्रेष्ठले भने, “सम्भावित दुर्घटनाबाट यात्रुहरूको जीवन रक्षा गर्न यो सतर्कतामूलक) निर्णय लिइएकाे हाे ।”
स्थानीय प्रशासनले यसअघि गत असार ७ गतेदेखि नै रात्रिकालीन समयमा सवारी सञ्चालनमा रोक लगाउँदै आएको थियो। मनसुनी जोखिम कायमै रहेकाले सोही निर्णयलाई पुनः निरन्तरता दिइएको हो।