उत्तर कोरियाको चेतावनीबीच अमेरिका र दक्षिण कोरियाद्वारा विशाल सैन्य अभ्यास सुरु
सियोल, २ भदाै । आणविक हतियारसम्पन्न उत्तर कोरियाबाट बढ्दो खतरा र क्षेत्रीय तनावका बीच संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सोमबार आफ्नो वार्षिक ग्रीष्मकालीन सैन्य अभ्यास सुरु गरेका छन्। ‘उल्ची फ्रिडम सिल्ड’ नामक यो अभ्यासले कोरियाली प्रायद्वीपमा तनावलाई थप उत्कर्षमा पुर्याउने निश्चितप्रायः छ।
उत्तर कोरियाले यस अभ्यासलाई आफ्नो भूमिमा आक्रमण गर्ने पूर्वाभ्यासको संज्ञा दिँदै कुनै पनि ‘उक्साहट’ को कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। ११ दिनसम्म चल्ने यो अभ्यासमा करिब २१,००० अमेरिकी र १८,००० दक्षिण कोरियाली सैनिक सहभागी छन्, जसमा कम्प्युटर सिमुलेसनदेखि फिल्ड तालिमसम्मका गतिविधिहरू समावेश छन्। अमेरिका र दक्षिण कोरियाले यसलाई पूर्णतः रक्षात्मक अभ्यास भने पनि प्योङयाङले यसलाई हतियार परीक्षण गर्ने बहानाका रूपमा हेर्दै आएको छ।
यो अभ्यास यस्तो संवेदनशील समयमा भइरहेको छ, जब दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति ली जे-म्युङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ताको तयारीमा छन्। ट्रम्पले दक्षिण कोरियामा तैनाथ २८,५०० अमेरिकी सैनिकको खर्च बढाउन निरन्तर दबाब दिइरहेका छन्, जसले दुई देशको गठबन्धनमाथि नै प्रश्न उठाएको छ।
एकातिर उत्तर कोरियाले राष्ट्रपति लीको कूटनीतिक पहललाई बेवास्ता गर्दै आफ्नो हतियार कार्यक्रम र रुससँगको सम्बन्धलाई तीव्र पारिरहेको छ, भने अर्कोतिर अमेरिका गठबन्धनको भूमिका नै पुनर्संरचना गर्ने सङ्केत दिइरहेको छ। अमेरिकी सेनाका कमान्डर जनरल जेभियर ब्रुनसनले उत्तर कोरियाको आणविक महत्वाकांक्षा, रुससँगको सम्बन्ध र चीनको चुनौतीलाई सामना गर्न गठबन्धनलाई आधुनिक बनाउनु जरुरी रहेको बताउनुभएको छ।