प्रतिनिधिसभाको बैठक आज बस्दै: पर्यटन र निर्वाचनसम्बन्धी विधेयकहरू कार्यसूचीमा

काठमाडौँ, १२ जेठ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम छ।

आजको बैठकमा निर्वाचनसँग सम्बन्धित विधेयकहरूले पनि प्राथमिकता पाउनेछन्। बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ।

पछिल्लो समय संसद्मा प्रधानमन्त्रीको उपस्थितिको विषयलाई लिएर विपक्षी दलहरूले गर्दै आएको माग र उत्पन्न गतिरोधका बीच आजको बैठक कसरी अगाडि बढ्छ भन्ने विषयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *