झापामा असुरक्षित विद्युत् प्रयोगले एक वर्षमै लियो १५ जनाको ज्यान

झापा, ३ भदौ। झापा जिल्लामा विद्युत्को असुरक्षित प्रयोग र सामान्य लापरवाहीका कारण करेन्ट लागेर मृत्यु हुनेको संख्या डरलाग्दो रूपमा बढेको छ। पछिल्लो एक वर्षको अवधिमा १५ जनाले अकालमै ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश घटना ग्रामीण क्षेत्रमा भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, विद्युतीय उपकरण सञ्चालनमा प्राविधिक ज्ञानको कमी र आवश्यक सतर्कता नअपनाउँदा यस्ता दुःखद घटनाहरू बढेका हुन्। तथ्याङ्कअनुसार, गत साउन महिनामा मात्रै ५ जनाको करेन्ट लागेर मृत्यु भएको थियो भने पछिल्लो चार महिनामा यो संख्या १० पुगेको छ।

किन बढ्दैछन् घटना?
प्रहरीका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार, अधिकांश मृत्युका घटनाहरू पानी तान्ने मोटर चलाउँदा, खोलामा अवैध रूपमा करेन्ट लगाएर माछा मार्दा, घाँस काट्ने मेसिन (कुटी) चलाउँदा भएका छन् । उहाँले भन्नुभयो, “धेरैजसो मानिसमा विद्युतीय उपकरण सुरक्षित रूपमा कसरी चलाउने भन्ने सामान्य ज्ञानसमेत छैन, जसले गर्दा यस्ता अकल्पनीय दुर्घटना भइरहेका छन्।”

यस्तै एउटा पछिल्लो दुःखद घटना मेचीनगरमा भएको छ। मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीले सोमबार साँझ घरमा बिग्रिएको टेबल पङ्खा बनाउने क्रममा करेन्ट लागेर ज्यान गुमाए। करेन्ट लागेर अचेत भएका उनलाई तत्काल मेची आम्दा अस्पताल पुऱ्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

यो घटनाले विद्युतीय उपकरणको प्रयोग र मर्मतमा अपनाउनुपर्ने सामान्य सावधानीको महत्त्वलाई फेरि एकपटक उजागर गरेको छ।