बाढीले मनास्लु पदमार्ग अवरुद्ध : दुई पुल र दुई जलविद्युत् आयोजना बगायो, लार्केपास यात्रामा रोक
गोरखा, २१ भदौ । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा आएको भीषण बाढीका कारण प्रसिद्ध मनास्लु पदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीले पदमार्गका मुख्य संरचनाहरू बगाएपछि आवतजावत ठप्प भएको हो ।
बाढीले चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित दुईवटा पुल र दुईवटा लघुजलविद्युत् आयोजना बगाएको छ । गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले ठुलो भौतिक क्षति पुर्याए पनि हालसम्म कुनै मानवीय क्षति भने भएको छैन । बाढीले गाउँ जोड्ने पुल बगाएपछि माथिल्लो र तल्लो क्षेत्रबीचको स्थलगत सम्पर्क विच्छेद भएको छ ।
पदमार्ग क्षतविक्षत भएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले अर्को सूचना नभएसम्मका लागि मनास्लु पदमार्ग र लार्केपास यात्रामा पूर्ण रूपमा रोक लगाएको छ । प्रशासनले आज एक सूचना जारी गर्दै यात्राको तयारीमा रहेका वा पदयात्रामा निस्किसकेका पर्यटक तथा गाइडहरूलाई सुरक्षित स्थानमा रहन र अघि नबढ्न आग्रह गरेको छ ।
लघुजलविद्युत् आयोजनाहरू बाढीले बगाएपछि त्यस क्षेत्रमा विद्युत् र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । स्थानीय बासिन्दा लाक्पा डुन्डुपका अनुसार आवतजावत गर्ने दुवैतर्फका पुल बगेकाले स्थानीय र पर्यटकहरू कतै जान नसक्ने अवस्थामा छन् । “बाढीले हामीलाई सङ्कटमा पारेको छ, कतै निस्कने बाटो नै छैन,” उहाँले भन्नुभयो ।
शरद ऋतुसुरु हुनै लाग्दा पदमार्ग अवरुद्ध हुनुले पर्यटन क्षेत्रलाई चिन्तित बनाएको छ । पर्यटन विभागका अनुसार यस वर्षको शरद ऋतुका लागि ३२ टोलीका ३६७ आरोहीले हिमाल चढ्ने अनुमति लिएका छन्, जसमा मनास्लुका लागि मात्र २९ टोलीका ३४८ आरोही रहेका छन् । पुल अभावमा लार्केपासका लागि निस्किएका सयौँ पर्यटक बीच बाटोमै अलपत्र परेका छन् । स्थानीय प्रशासनले मौसममा सुधार आउनासाथ र सडकको अवस्था हेरेर मात्र पुनः पदयात्रा खोल्ने तयारी गरेको छ ।
