नारायणगढ–मुग्लिन सडक भोलिदेखि आंशिक बन्द हुने, यस्तो छ सवारी सञ्चालनको समयतालिका

चितवन, २१ भदौ । नारायणगढ–मुग्लिन सडक खण्ड भोलि बिहानदेखि दैनिक रूपमा निश्चित समयका लागि बन्द हुने भएको छ । तुइन खोलामा पहिरो रोकथामका लागि माटो कटान र व्यवस्थापनको काम गर्नुपर्ने भएकाले स्थानीय प्रशासनले सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आज एक सूचना जारी गर्दै पृथ्वी राजमार्गको कृष्णभीरमा सडक मर्मत भइरहेको समयको सदुपयोग गरी तुइन खोलामा पनि काम अघि बढाउन लागिएको जानकारी दिनुभयो । कृष्णभीरको सडक मर्मत कार्य सम्पन्न भई यातायात पूर्ण रूपमा सुचारु नहुन्जेल यो व्यवस्था कायम रहने प्रशासनले जनाएको छ ।

तुइन खोला क्षेत्रमा बारम्बार पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ । सो स्थानमा पहिरोको जोखिम न्यून गर्न माथिल्लो भागमा रहेका खुकुला ढुङ्गा र माटो पन्छाउने काम गरिनेछ । “सम्भावित जोखिमपूर्ण भागलाई पहिले नै झारेर पहिरो व्यवस्थापन गर्न लागिएको हो,” प्रजिअ अर्यालले सूचनामा उल्लेख गर्नुभएको छ ।

प्रशासनले कामको समयमा सवारी रोकेर बीच-बीचमा निश्चित समयका लागि मात्रै गाडी छोड्ने तालिका सार्वजनिक गरेको छ । जसअनुसार निम्न समयमा मात्रै सवारी साधन चल्न पाउनेछन्:
बिहान: ८:०० बजेदेखि ८:३० बजेसम्म
बिहान: १०:३० बजेदेखि ११:०० बजेसम्म
दिउँसो: १:०० बजेदेखि १:३० बजेसम्म
दिउँसो: ३:५० बजेदेखि ४:०० बजेसम्म
साँझ: ६:०० बजेपछि (नियमित रूपमा खुला रहने)

यी समयबाहेक अन्य अवधिमा काम जारी रहने भएकाले उक्त सडक खण्डमा सवारी साधनहरू रोकिनेछन् । कृष्णभीरमा पहिरोका कारण सडक भासिएर राजधानीको ‘लाइफलाइन’ प्रभावित भइरहेका बेला प्रशासनले अन्य जोखिमयुक्त स्थानको मर्मतलाई पनि सँगसँगै अघि बढाएको हो ।