धार्मिक पर्यटन प्रवर्द्धन

सिन्धुपाल्चोकको पाँचपोखरीमा एउटै ढुङ्गाबाट बन्दैछ ८४ फिट अग्लो बुद्धकाे प्रतिमा

काठमाडौँ, ४ भदौ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यले भगवान् गौतम बुद्धको विशाल प्रतिमा निर्माण कार्यले तीव्रता पाएको छ।

गाउँपालिकाको वडा नं. ७, भोटेनाम्लाङस्थित ‘युङ्बा दोङ’ नामक एउटै विशाल ढुङ्गामा ८४ फिट अग्लो प्रतिमा कुँदिदैछ।

गाउँपालिका अध्यक्ष टाशी लामाका अनुसार, यो परियोजना पालिकाको ‘गौरवको योजना’ हो र यसले यस क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई अझ बढाउनेछ। चार वर्षअघि सुरु भएको निर्माण कार्यअन्तर्गत हालसम्म बुद्धको शिरको भाग तयार भइसकेको छ।

करिब तीन करोड रुपैयाँको अनुमानित लागतमा निर्माण भइरहेको यो प्रतिमा आगामी वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस कार्यमा गाउँपालिका, बागमती प्रदेश सरकार र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानले प्राविधिक तथा आर्थिक सहयोग गरिरहेका छन्।

अध्यक्ष लामाले सामान्यतया टुक्रा-टुक्रा ढुङ्गा जोडेर बनाइने प्रतिमाभन्दा फरक, एउटै चट्टानमा कुँदिएको यो प्रतिमा अद्वितीय हुने बताउनुभयो। उहाँका अनुसार, यसले पाँचपोखरी क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, स्थानीयको आर्थिक स्तर उकास्ने र यस भूमिलाई अन्तर्राष्ट्रिय स्तरमा एक आध्यात्मिक गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ।

उहाँले प्रतिमा निर्माणमा सहयोग गर्ने दाताहरूको नाम शिलालेखमा सम्मानका साथ समावेश गरिने पनि जानकारी दिनुभयो।