राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपानेको उम्मेदवारी

काठमाडौँ, १० भदाै । प्रतिनिधिसभा अन्तर्गतको महत्वपूर्ण मानिने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदका लागि नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ।

उहाँको उम्मेदवारीलाई सत्तारुढ दल नेकपा (एमाले) ले पनि समर्थन गरेको छ। न्यौपानेको उम्मेदवारीमा प्रस्तावकका रूपमा कांग्रेस सांसद रामहरि खतिवडा रहनुभएको छ भने समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।

मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस शीर्ष बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने टुंगो लगाएको थियो। पार्टीको निर्णयपछि उहाँले संसदीय सुनुवाइ समितिबाट राजीनामा दिँदै राज्य व्यवस्था समितिको सभापतिका लागि मनोनयन दर्ता गर्नुभएको हो।

कांग्रेसबाट समानुपातिक सांसद बन्नुभएकी न्यौपानेलाई पार्टीले यसअघि उपसभामुखको उम्मेदवार पनि बनाएको थियो, तर उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगरसँग पराजित हुनुभएको थियो।

‘कुलिङ पिरियड’ सम्बन्धी विवादपछि कांग्रेसकै सभापति रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएका कारण यो पद रिक्त भएको थियो। समितिको सभापतिका लागि बुधबार दिउँसो ३ बजे निर्वाचन हुने कार्यतालिका रहेको छ।