नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयसीमा थप

काठमाडौँ, जेठ २९ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक तथा वितरण अभियानको समयसीमा थप गरेको छ । यसअघि जेठ २८ गते राति १२ बजेसम्मका लागि तोकिएको अन्तिम म्यादलाई अर्को सूचना जारी नभएसम्मका लागि लम्ब्याइएको पार्टीले जनाएको छ ।

पार्टीद्वारा जारी विज्ञप्तिअनुसार, देशभरका कुल ७ लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म ५ लाख ३८ हजार ६२२ जनाले सम्बन्धित वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका छन् ।

यसैगरी, १ लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरेका छन्। उनीहरूको विवरण हाल वडा सभापतिहरूमार्फत अद्यावधिक हुने प्रक्रियामा रहेको छ । सदस्यहरूको विवरण प्रमाणीकरण र डिजिटल प्रविष्टिमा थप समय लाग्ने देखिएकाले म्याद थप गर्ने निर्णय गरिएको कांग्रेसले स्पष्ट पारेको छ  ।

सांगठनिक सुदृढीकरणका लागि कांग्रेसले पछिल्लो समय प्रविधिमैत्री सदस्यता प्रणालीलाई प्राथमिकता दिँदै आएको छ। थपिएको समय र प्रक्रियाबारे पार्टीले निकट भविष्यमा पुनः जानकारी गराउनेछ ।