पोखराबाट अष्ट्रेलिया र भुटान उडानको तयारी, भैरहवामा पनि विदेशी एयरलाइन्स फर्कंदै
काठमाडौँ, १२ भदौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया र भुटानका लागि उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलियाको नियमित उडान गर्ने तयारी गरेको छ भने भुटान एयरलाइन्सले पोखरामा चार्टर्ड उडान सुरु गर्ने अनुमति मागेको छ।
सिचुवान एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि नै उडान सुरु गर्ने योजनासहित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग अनुमति मागेको हो। यो उडान सुरु भएमा पोखराबाट सिधै अष्ट्रेलिया जाने नेपाली यात्रुलाई ठूलो राहत मिल्नेछ।
यस्तै, भुटानको निजी वायुसेवा कम्पनी भुटान एयरलाइन्सले पनि सेप्टेम्बर र अक्टोबरमा पोखरा–पारो चार्टर्ड उडानका लागि अनुमति मागेको छ। प्राधिकरणका अनुसार यी उडान सफल भएमा भविष्यमा पारो–पोखरा–दिल्ली रुटमा समेत उडान विस्तार गर्ने योजना छ।
यसैबीच, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जजिरा एयरवेज र थाई एयर एसियाले पुनः नियमित उडान सुरु गर्ने भएका छन्। प्राधिकरणका अनुसार दुवै एयरलाइन्सले आगामी अक्टोबर २६ देखि सुरु हुने ‘विन्टर सेड्युल’मा उडान गर्ने तयारी गरेका छन्।
सरकारले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा पूर्ण छुट तथा ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट जस्ता आकर्षक सुविधा दिएको छ, जसले विदेशी वायुसेवालाई आकर्षित गर्न मद्दत पुगेको छ।