इन्द्रजात्रा काे मुख्य दिन आज, काठमाडौं उपत्यकाका नेवा: समुदायले धुमधामका साथ मनाइदै
काठमाडौं, २१ भदाै। इन्द्रजात्राकाे मुख्य दिन आज काठमाडौं उपत्यकाका नेवा: समुदायले धुमधामका साथ वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको याे:सिं ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको याे:सिंलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । याे:सिंको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा उपत्यकाबासीले इन्द्रजात्रा मनाउने गरिएको हो ।
यसअघि तान्त्रिक विधिद्वारा पूजागरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि याे:सिंलाई साइत हेरेर उपत्यका भित्र्याइन्छ ।
हनुमानढोका अगाडि इन्द्रध्वजासहितको याे:सिं ठड्याएपछि इन्द्रजात्रा सुरूभएकाे मानिन्छ । इन्द्रध्वजाको याे:सिं ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ ।
आज भदाै २१ गते इन्द्रजात्राको मुख्य दिन हो । यस दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा रहिआएकाे छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएपनि आज शनिबार परेको छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।
इन्द्रध्वजाको याे:सिं ठड्याएको आठौं दिनपछि अर्थात् कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ ।
यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन बुधबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।