पार्टी नेतृत्वलाई कमजोर बनाएर सुदृढीकरण सम्भव छैन: एमाले अध्यक्ष ओली

काठमाडौँ, २० जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वलाई कमजोर बनाएर वा विस्थापित गरेर सङ्गठनमा मजबुत एकता सम्भव नहुने स्पष्ट पार्नुभएको छ। पार्टीको केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण, विस्तार तथा उत्प्रेरणा’ कार्यशालालाई आज सम्बोधन गर्दै उहाँले सङ्घीन घडीमा पार्टीभित्र आन्तरिक एकता र अनुशासनको ठूलो महत्त्व रहेको बताउनुभयो।

अध्यक्ष ओलीले पार्टीभित्रका कतिपय नेताहरूमा ‘शिर काटेर टेबलमा राखिदिए पार्टी सुध्रिन्छ र राम्रोसँग चल्छ’ भन्ने खालको गलत मानसिकता रहेको टिप्पणी गर्नुभयो। “शिर काटेर टेबलमा राखिदिने हो भने शरीरले मात्र पार्टी चलाउन वा एकताबद्ध बनाउन सक्छ भन्ने मानसिकता पार्टी हितमा छैन,” उहाँले भन्नुभयो। उहाँले नेतृत्वलाई क्षत–विक्षत बनाएर सांगठनिक सुदृढीकरण हुन नसक्ने जिकिर गर्नुभयो।

बाह्य शक्ति र विरोधीहरूले पार्टीमाथि प्रहार गरिरहेका बेला पार्टीभित्रकै कतिपय साथीहरू र कतिपय सञ्चारमाध्यमहरू समेत एमालेको साख गिराउन उद्धत रहेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “पार्टीमा कोही यता फर्केर बोल्ने, कोही उता फर्केर बोल्ने र भ्रम फैलाउने काम भइरहेको छ। समीक्षाको माग गर्ने तर समीक्षा नै नभई कोही हस्ताक्षर अभियान चलाउन कुद्ने त कोही अनेक किसिमका हल्ला फैलाउन कुद्ने प्रवृत्ति देखिएको छ। यस्तो गैरअनुशासित शैलीले पार्टी एकताबद्ध हुन सक्दैन।”

अध्यक्ष ओलीले एमाले विगत ३६ वर्षदेखि ‘जनताको बहुदलीय जनवाद’ (जबज) को वैचारिक सिद्धान्तमा एकताबद्ध रहँदै आएको स्मरण गराउँदै सम्पूर्ण नेता तथा कार्यकर्ताहरू जवजकै मार्गदर्शनमा अनुशासित ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो।