राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौँ, २७ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ ।

उक्त भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो ।

सो अवसरमा वर्तमान राजनीतिक निकासका बारेमा उहाँहरूबीच छलफल भएको थियो । सभामुखसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार संविधानभित्रै रहेर राजनीतिक निकास खोज्ने बताउनुभएको थियो ।

यही भदौ २३ गतेपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा राष्ट्रपति पौडेल र सभामुखबीच छलफल भएको र उपयुक्त निकासका बारेमा विचारविमर्श भएको बताइन्छ । उहाँहरूबीचको भेटलाई महत्त्वका साथ हेरिएको छ ।