भोटेकोशी बाढीमा ६७७ यातायात मजदुर सम्पर्कविहीन
काठमाडौँ, असोज २ । भोटेकोशी नदीमा आएको बाढीमा परी ६७७ जना यातायात मजदुर सम्पर्कविहीन भएको नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले जनाएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार बसेको बैठकमा महासङ्घले बाढीका कारण ५१५ वटा ट्रक तथा कन्टेनरसमेत हराएको प्रारम्भिक विवरण प्रस्तुत गरेको हो ।
पूर्वाधार विकास मन्त्रालयले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्तिको आधारका विषयमा रायसहितको प्रतिवेदन तयार गर्न महानिर्देशक पोखरेलको संयोजकत्वमा समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र रायसुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
महासङ्घले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै सम्पर्कविहीन मजदुर तथा हराएका ट्रक र कन्टेनरको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ ।
समितिमा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि, पूर्वाधार विकासमन्त्रीको सचिवालयका प्रतिनिधि, यातायात व्यवसायी तथा यातायात मजदुरका सङ्घ–सङ्गठनका प्रतिनिधि सदस्य छन् । समितिमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ र महासङ्घका महासचिव बद्रीप्रसाद चौलागाईंलगायत सदस्य रहनुभएको छ ।
