देशभर आज मौसममा बदली, कोशी–बागमती–गण्डकीका हिमाली भेगमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सामान्य स्थानको दक्षिणतर्फ रहेको छ।

शुक्रबार बिहान कोशी प्रदेशका एक–दुई स्थानमा पानी परिरहेको छ। संखुवासभाको टासी गाउँमा पछिल्लो तीन घण्टामा २७.९ मिलिमिटर वर्षा भएको छ भने ताप्लेजुङको तापेथोकमा १०.४ मिलिमिटर र लुङथुङमा ७.६ मिलिमिटर वर्षा मापन भएको छ।

गएको २४ घण्टामा झापाको चन्द्रागिरि एयरपोर्टमा सबैभन्दा बढी ११२.२ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै अनारमनी बिर्तामोडमा ८९.६ मिलिमिटर, उदयपुरको गाईघाटमा ८६.८ मिलिमिटर र संखुवासभाको टासीगाउँमा ८२.८ मिलिमिटर वर्षा मापन भएको छ। अन्य विभिन्न भूभागमा पनि मध्यमदेखि भारी वर्षा मापन भएको छ।

शुक्रबार दिउँसो देशभर साधारणतया बदली हुने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहितको मध्यम वर्षा हुनसक्छ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भने दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार राति कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *