एनवाइसी क्वीन्स कराते च्याम्पियनसिप हुने

काठमाडौँ, २१ असोज । एनवाइसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण नोभेम्बर २३ तारिख हुने भएको छ । आइएमए निहोन कराते डो युएसएले गत वर्षदेखि यो च्याम्पियनसिप आयोजना गर्न शुरु गरेको हो ।

‘हामी आज यो घोषणा गर्न पाउँदा हर्षित छौ ।  ‘एनवाइसी क्वीन्स कराते च्याम्पियनसिप २०२५’ नोभेम्बर २३ तारिख आइतबारका दिन हुनेछ ।’  आइएमए निहोन कराते डो  युएसएका संस्थापक, प्रमुख प्रशिक्षक तथा च्याम्पियनसिप निर्देशक सिहान शान्त थोकरद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘अमेरिकाको न्युयोर्क राज्यको क्वीन्समा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई एकताबद्ध गर्न यो हाम्रो दोस्रो प्रयास हो ।’ विज्ञप्तिमा थोकरले भनेका छन् ‘यो प्रिमियर मार्शल आर्ट कार्यक्रमले संयुक्त राज्य अमेरिका र विदेशबाट सबै उमेर र स्तरका कराते खेलाडीहरूलाई एकै ठाउँमा ल्याउने छ ।’

च्याम्पियनसिप क्विन्सको कोरोना स्थित नर्दर्न ब्यु वर्डमा रहेको  एल्मकोर सेन्टरमा हुने छ । च्याम्पियनसिपको अघिल्लो दिन नोभेम्बर २२ तारिख शनिबार रेफ्री सेमिनार हुने जनाइएको छ ।

सेमिनारमा विश्व कराते महासंघ डब्लुकेएफका रेफ्री सेड्रिक बाक्र्सडेलले प्रशिक्षण दिने छन् । ‘सेमिनारले रेफ्रीको स्तर बढाउनेछ र प्रतिस्पर्धामा निष्पक्षता र व्यावसायिकता सुनिश्चित गर्नेछ भन्ने हाम्रो अपेक्षा छ ।’ थोकरले भने, ‘च्याम्पियनसिपले उच्च स्तरको करातेको एक रोमाञ्चक दिनको प्रतिक्षा गर्दछ ।’

च्याम्पियनसिपमा कुल ६६ क्याटगोरीमा प्रतिस्पर्धा हुने छ ।  १०–११ वर्ष देखि १८ वर्ष माथि पुरुष महिला दुबैमा  एड्भान्स  काता र कुमिते डिभिजनका लागि दुई हजार अमेरिकी डलर नगद पुरस्कार राखिएको छ । यस्तै ५ वर्ष देखि ४५+ वर्ष उमेरका लागि काता र कुमितेमा प्रतिस्पर्धा गराइने छ ।

च्याम्पियनसिपमा कुल पाँच सय २८ पदक  प्रदान गरिनेछ । जसमा स्वर्ण र रजत एक सय ३२ हुने छन् । यस्तै दुई सय ६४ कास्य पदक पनि प्रदान गरिने छ।‘हामी न्यु योर्क शहरमा यस्तो प्रतिष्ठित कार्यक्रम आयोजना गर्न पाउँदा गर्भित छौँ, जसले अनुशासन, सम्मान र अन्तर्राष्ट्रिय मित्रता मनाउन कराते खेलाडीहरू, रेफ्रीहरू र परिवारहरूलाई एकसाथ ल्याउँछ ।’  प्रतियोगिता निर्देशक समेत रहेका थोकरले भने ।

थोकरले अमेरिकी कराते समुदायको सहयोगमा, च्याम्पियनसिपले ओलम्पिक करातेको भावनालाई प्रतिबिम्बित गर्ने विश्वास लिएको बताएका छन् । ‘क्वीन्स र बाहिरका मार्शल आर्ट समुदायको शक्तिलाई हाइलाइट गर्दछ । दर्शकहरूलाई विश्व स्तरीय प्रतिस्पर्धा, सांस्कृतिक आदानप्रदान र मार्शल आर्ट उत्कृष्टताको दिनमा उपस्थित हुन र हेर्न आमन्त्रित गरिएको छ ।’

‘आइएमए निहोन कराते डो युएसएले समुदायका सदस्यहरू, व्यावसायिक व्यक्ति, खेलाडी, मिडिया प्रतिनिधि र व्यक्तिहरूलाई पनि आफ्नो मूल्यवान प्रायोजन र समर्थन जारी राख्न आह्वान गर्दछ, जसले गर्दा यो कार्यक्रमलाई फेरि एक पटक भव्य रूपमा सफल बनाउन मद्दत गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

‘आइएमए निहोन कराते डो युएसए करातेको  प्रवद्र्धन गर्न समर्पित एक अग्रणी मार्शल आर्ट संस्था हो । युवाहरूलाई सशक्त बनाउने र सामुदायिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यका साथ, आइएमएले अमेरिकाभरि प्रतियोगिता, सेमिनार र प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।