परम्परागत कृषिलाई व्यावसायिक बनाउँदै कृषक

मादले काँक्रो आम्दानीको राम्रो स्रोत

काठमाडौँ, असोज २३ । तनहुँको आँबुखैरेनी क्षेत्रका किसानहरू पछिल्लो समय मादले काँक्रोखेतीतर्फ आकर्षित हुन थालेका छन् । बजारमा मादले काँक्रोको माग बढ्दै गएपछि किसानहरू यस खेतीमा लागेका हुन् । यस वर्ष मात्रै यहाँका छवटा कृषक समूहमा आबद्ध किसानहरूले काँक्रो बिक्री गरेर ६ लाख ३५ हजार रुपियाँ आम्दानी गरेका छन् ।

आँबुखैरेनी गाउँपालिका-५ लाब्दी भोटेश्वाराका वीरबहादुर गुरुङले गाउँपालिकाको सहयोगमा काँक्रो उत्पादन र बजारीकरण सहज भएको र आम्दानी बढेको बताउनुभयो । उहाँले यस वर्ष आफूले ५० बोट काँक्रो लगाएर ४० हजार ५ सय रुपियाँ आम्दानी गरेको जानकारी दिनुभयो । “विगतमा बजार नपाएर काँक्रो कुहिएर जान्थ्यो, तर अहिले बजार राम्रो छ ।” उहाँले भन्नुभयो, “गाउँपालिकाले हाम्रो उत्पादन हाटबजारसम्म निःशुल्क ढुवानी गरिदिएकोले काँक्रो बिक्री गर्न सहज भएको छ ।”

सोही ठाउँका जितबहादुर गुरुङले ३० हजार ५ सय रुपियाँ, तुलबहादुर गुरुङले १२ हजार ५ सय रुपियाँ, सङ्गीता गुरुङले ४५ हजार ५ सय रुपियाँ, लालश्री गुरुङले ४५ हजार ५ सय रुपियाँ, तेजबहादुर गुरुङले २० हजार ५ सय रुपियाँ, डिलुमाया गुरुङले १२ हजार ५ सय रुपियाँ, रत्नमाया गुरुङले १४ हजार ५ सय रुपियाँ, सीता गुरुङले नौ हजार ५ सय रुपियाँ, रजमाया गुरुङले दश हजार ५ सय रुपियाँ, फूलमाया गुरुङले ३५ हजार ५ सय रुपियाँ, धनमाया गुरुङले १५ हजार ५ सय रुपियाँ  र खड्क गुरुङले ५० हजार रुपियाँको मादले काँक्रो बिक्री गर्नुभएको छ ।

छिम्केश्वरी कृषक समूहमा आबद्ध यी किसानलगायतले मात्रै रु चार लाख तीन हजार बराबरको मादले काँक्रो बिक्री गरेको कृषक जितबहादुर गुरुङले जानकारी दिनुभयो । आँबुखैरेनीमा प्रत्येक सोमबार र शुक्रबार लाग्ने हाटबजारमा मादले काँक्रोले राम्रो बजार पाएको उहाँले बताउनुभयो । “गाउँपालिकाले जति उत्पादन भए पनि बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि हामी ढुक्क छौं, यसले कृषकलाई आकर्षित गरेको हो,” गुरुङले भन्नुभयो ।

गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीका अनुसार यहाँका किसानहरूले करिब ५ हजार ५०० केजी मादले काँक्रो उत्पादन गरी बिक्री गरेका छन् । उहाँका अनुसार छिम्केश्वरी कृषक समूहका किसानले ४ लाख ३ हजार रुपियाँ, घलडाँडा कृषक समूहका किसानले १ लाख ९ हजार रुपियाँ, केउरिनी कृषक समूहका किसानले ७६ हजार रुपियाँ,  माई छिम्केश्वरी कृषक समूहका किसानले १८ हजार रुपियाँ, खोलागाउँ कृषक समूहका किसानले ३ हजार रुपियाँ र एकता कृषक समूहका किसानले २६ हजार रुपियाँ बराबरको काँक्रो बिक्री गरेका छन् । यसबाट ४४ जना किसान लाभान्वित भएका छन् ।

केसीका अनुसार आँबुखैरेनी गाउँपालिका-५ र ६ मा धेरैले काँक्रोखेती गरिरहेका छन् । विगतमा विभिन्न जटिलतासँगै रोग कीराको प्रकोप, प्राविधिक ज्ञान र बजार समस्याका कारण सोचेअनुरूप उत्पादन हुन सकिरहेको थिएन । गाउँपालिकाले मादले काँक्रोलाई रैथाने बालीका रूपमा राखेर प्रवर्द्धनमा सहयोग गरेपछि केही समस्या समाधान भएको केसीको भनाइ छ ।

“यस वर्ष दुई वडाका ४४ जना किसानले ५.५ मेट्रिक टन काँक्रो उत्पादन गरेर बिक्री गर्न सफल हुनुभयो । विगतमा उत्पादन भए पनि बजारीकरण मुख्य समस्याका रूपमा थियो । हाटबजारबाट यसको बजारीकरण हुँदा कृषक उत्साहित हुनाका साथै उत्पादन बढाउन प्रोत्साहित हुनुभएको छ,” उहाँले भन्नुभयो ।

आँबुखैरेनी गाउँपालिका-२ मा प्रत्येक सोमबार र आँबुखैरेनी गाउँपालिका-३ मा प्रत्येक शुक्रबार हाटबजार लाग्ने गरेको छ । गाउँपालिकाभित्रका सबै किसानले आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बिक्री गर्ने गर्छन् ।