शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडाैं, २६ असाेज । शेयर बजारमा साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ७८.८३ अंक घटेर २५०३.३५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ११.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डक्स ४.३२ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। गत बिहीबार ५ अर्ब २७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको ६७ हजार २०२ पटकको कारोबारमा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रुपैयाँबराबरको १ करोड ४३ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक ६.०१ प्रतिशत बढेको छ। अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन बुटवल पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.२७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ भने राधी विद्युत कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.८४ प्रतिशत घटेको छ।