म्याग्दीमा झाडी फाँडेर फलफूल खेती विस्तार : किसानलाई ५० प्रतिशत अनुदान

काठमाडौँ, असोज २७ । गण्डकी प्रदेशका १० जिल्लाका ३४ स्थानीय तहमा “पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा)” सञ्चालन भइरहेको छ, जसअन्तर्गत म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिका पनि समेटिएका छन् । यस आयोजनाले बाँझिएका खेतीयोग्य जमिनलाई पुनः प्रयोगमा ल्याउँदै फलफूल खेती विस्तारमा जोड दिएको छ । दुई वर्षअघि कास्कीको पोखरा महानगर र पर्वतको जलजला गाउँपालिकाबाट सुरु भएको यस आयोजना हाल गण्डकी प्रदेशका १९ स्थानीय तहमा विस्तार भएको छ। कुल ९३.४५ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको यो आयोजना नेपाल सरकार र एसियाली विकास बैंकको साझेदारीमा सञ्चालित छ।

किसानलाई ५० प्रतिशत अनुदान:

आयोजना प्रमुख वासुदेव काफ्लेका अनुसार, पहाडी क्षेत्रमा ओखर, सुन्तला, कागती, किवी लगायत १० प्रजातिका फलफूल खेती विस्तार र प्रवर्द्धन गर्ने कार्यक्रमको मुख्य उद्देश्य हो । यसका लागि कृषि फार्म, सहकारी र समूहले ५० प्रतिशत अनुदान पाउनेछन् । कम्तीमा २० रोपनी क्षेत्रफलमा नयाँ बगैँचा स्थापना गरी फलफूल खेती विस्तार गर्न आयोजनाले न्यूनतम ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ। यो अनुदान बिरुवा रोप्न खाडल खन्ने, मल, बिरुवा खरिद, सिँचाइ र कृषि औजारका सामग्री खरिदका लागि प्रयोग गर्न सकिनेछ ।

जलजला गाउँपालिकामा सफलता

पहिलो चरणमा आयोजना लागू भएको जलजला गाउँपालिकाका २९ वटा फर्म र समूहले सुन्तलाजात र ओखर खेती विस्तारसम्बन्धी कार्यक्रमका लागि अनुदान सम्झौता गरेका थिए । गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले ११ वटा फर्मले सुन्तला र दुई वटाले कागतीको बगैँचा स्थापना गरेको जानकारी दिनुभयो । यसले बाँझिएको जग्गा प्रयोगमा आउनुका साथै बजार झरेका किसानहरू गाउँ फर्किएर फलफूल खेतीमा लागेको उहाँले बताउनुभयो ।

झाडी फाँडेर कागती खेती

जलजला गाउँपालिका–४ सिरानचौरमा १० वर्षदेखि बाँझिएको जमिनमा ओमनम् एग्रो फार्मका सञ्चालक जनक अधिकारी र प्रदीप खत्रीले झाडी फाँडेर ४५० वटा कागतीका बिरुवा रोपी बगैँचा स्थापना गर्नुभएको छ। उहाँहरूले नाफा आयोजनाको सहयोगले झाडी फाँडेर अहिले कागतीको बिरुवा रोपेर हराभरा बनाएको बताउनुभयो ।

धानको विकल्पमा सुन्तला खेती

जलजला गाउँपालिका-५ लेकफाँटका दयाराम सापकोटा, मीनराज सापकोटा र सुरेश सापकोटाले २० रोपनी खेतमा धान खेतीको विकल्पमा सुन्तलाका बिरुवा रोप्नुभएको छ । मिलनचोक बजारमा बस्दै आएका दयाराम बगैँचा स्थापना गरेपछि गाउँ फर्कनुभएको छ। जलजला गाउँपालिका-७ धाइरीङका तुलसी आचार्यले धान, कोदो, मकैलगायत खाद्यबालीको तुलनामा कम लगानी र धेरै वर्षसम्म नगद आम्दानी हुने भएकाले सुन्तला खेती गरेको बताउनुभयो ।

भुक्तानीमा ढिलाइको गुनासो

अनुगमन टोलीसँग किसानहरूले आयोजनाले अनुदान उपलब्ध गराउन ढिलाइ गर्दा समस्या भएको गुनासो गरेका छन् । गत असारमै बगैँचा स्थापना गरे पनि आयोजनाले भुक्तानीमा ढिलाइ गरेको सञ्जोग कृषि फार्म जलजला-५ रातमाटाका वेदनाथ सुवेदीले बताउनुभयो । आयोजना प्रमुख काफ्लेले काम सम्पन्न गरेका फर्महरूको स्थलगत अनुगमन सकेपछि तत्कालै भुक्तानी दिने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *