त्रिवि शिक्षण अस्पतालमा आठ घाइतेको उपचार हुँदै
काठमाडौँ, असोज १ । भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएका ८४ जनामध्ये ७० जना उपचारपछि घर फर्किएका छन् भने आठ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।
शिक्षण अस्पतालका प्रवक्ता एवम् वरिष्ठ न्यूरो सर्जन डा गोपाल सेढाइँका अनुसार बाढीमा परी घाइते भई अस्पताल ल्याइएका ८४ जनामध्ये आज साँझसम्म ७० जना उपचारपछि घर फर्किएका हुन् ।
हाल अस्पतालमा मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, राजेन्द्र भट्ट, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ, चण्डिका श्रेष्ठ र सलिना भुजेलको उपचार भइरहेको डा सेढाइँले जानकारी दिनुभयो ।
अस्पतालमा ल्याइएका घाइतेमध्ये चार जनालाई थप उपचारका लागि अन्य अस्पतालमा पठाइएको उहाँले बताउनुभयो ।
यस्तै, बाढीमा परी घाइते भई उपचारका लागि अस्पताल ल्याइएका एक जनाको उपचारका क्रममा मृत्यु भएको शिक्षण अस्पतालले जनाएको छ ।
