अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित भारतीय नागरिक पक्राउ
काठमाडौँ, १ असोज । अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक २५ वर्षीय काथराम नितिन पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा उनलाई चितवन भरतपुर महानगरपालिका–२ आँपटारीबाट पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट मोबाइल २६ थान, ल्यापटप दुई थान, सिमकार्ड ९५ थान, सिपियु चार थान, इन्भर्टर एक थान, ब्याट्री दुई थान, युएसबी छ थान, राउटर दुई थान र विभिन्न प्रकारका डेटा केबुललगायतका सामान बरामद गरेको छ।
ती उपकरण तथा सामग्री अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी)मा प्रयोग गरिएको भन्ने खुल्न आएको केन्द्रीय समाचारकक्षले जनाएको छ।
