अनधिकृत रुपमा स्वास्थ्य संस्थाजन्य फोहर फाल्ने औषधि कम्पनीलाई ५० हजार जरिवाना
औषधि उत्पादक कम्पनीलाई जरिवाना
काठमाडौँ, १ असोज । काठमाडौँ महानगरपालिका वडा नं. ३१ आलोकनगरमा अनधिकृत रुपमा स्वास्थ्य संस्थाजन्य फोहर फालेको प्रमाणका आधारमा एक औषधि उत्पादक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
महानगरपालिकाका अनुसार आलोकनगरमा फालिएको स्वास्थ्य संस्थाजन्य फोहरमा दुईवटा कम्पनीको नाम उल्लेख भएका कागजात फेला परेपछि प्रमाणका आधारमा फोहर उत्पादकको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाइएको हो। तीमध्ये एउटा कम्पनी भक्तपुर र अर्को टोखा नगरपालिका–धापासीमा रहेको पाइएको छ।
सम्बन्धित कम्पनीहरु काठमाडौँ महानगरपालिकाको भौगोलिक क्षेत्रबाहिर रहेको पाइएपछि महानगर प्रहरी बलले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरमार्फत कारबाही प्रक्रिया अघि बढाएको थियो।
महानगर प्रहरी बलले फोहरमैला व्यवस्थापन ऐन, २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कसुर गर्ने व्यक्ति तथा संस्थालाई महानगरपालिकाको कार्यालयमा उपस्थित गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो।
सोही अनुरोधका आधारमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत सम्पर्कमा आएको कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो।
उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत झिकाइएको अर्को कम्पनीका अधिकारी भने हालसम्म महानगरपालिकाको सम्पर्कमा आएका छैनन् ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलको संयुक्त टोलीले अनधिकृत रुपमा फोहर फाल्ने व्यक्ति तथा संस्थामाथि निगरानी बढाएको छ। सार्वजनिक सडक, सडक किनारा तथा अन्य स्थानमा जथाभावी फालिएको फोहरबाट प्रमाण संकलन गरी फोहर उत्पादक पहिचान गर्ने र कानुनबमोजिम कारबाही गर्ने प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ ।
निगरानीका क्रममा फोहर फालिरहेको अवस्थामा भेटिने व्यक्तिलाई तत्काल जरिवाना गर्ने गरिएको छ। त्यसैगरी फालिएको फोहरमा भेटिने कागजात तथा अन्य प्रमाणका आधारमा फोहर उत्पादक व्यक्ति वा संस्थासम्म पुगेर कारबाही प्रक्रिया अघि बढाउने गरिएको छ ।
प्रारम्भिक कारबाहीमा परेका व्यक्ति तथा संस्थाको नाम सार्वजनिक नगर्ने नीति लिइएको भए पनि समान प्रकृतिको कसुर दोहोरिएमा सम्बन्धित व्यक्ति वा संस्थाको नाम र ठेगाना सार्वजनिक गरिने नगर प्रहरी वरिष्ठ उपरीक्षक जोशीले बताउनुभयो ।
महानगरपालिकाले स्वास्थ्य संस्थाजन्यलगायत सबै प्रकारका फोहर तोकिएको विधि र स्थानबाट मात्र व्यवस्थापन गर्न तथा सार्वजनिक स्थानमा जथाभावी फोहर नफाल्न सम्बन्धित व्यक्ति, संस्था र व्यवसायीलाई आग्रह गरेको छ ।
