पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्डको सजाय

काठमाडौँ, १ मङ्सिर । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।

बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालतले पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको हो।

अभियोजन पक्षले गत जुनमा अदालतमा हसिनासहित तीन जनाविरुद्ध मुद्दा दायर गरेका थिए। जसमध्ये अदालतले तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमाललाई समेत मृत्युदण्डको सजाय सुनाएको छ।

तत्कालीन प्रहरी प्रमुख अल ममूनलाई भने सरकारी साक्षी बनेका कारण ५ वर्षको जेल सजाय सुनाइएको छ।
४५३ पृष्ठको फैसलाको प्रतिलिपि पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले यो फैसला छ भागमा सुनाइने जानकारी दिए।