साफ क्लब महिला च्याम्पियनसिपको तयारी तीब्र गतिमा

काठमाडौँ, मङ्सिर १५ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा साफ क्लब महिला च्याम्पियनसिप मङ्सिर १९ गतेखि दशरथ रङ्गशालामा हुने भएको छ ।

एन्फाले सोमबार पत्रकार सम्मेलनमार्फत् दक्षिण एसियाली फुटबल महासंघ (साफ) को क्यालेन्डर अनुसार मङ्सिर १९ देखि पुस ५ गतेसम्म सो च्याम्पियनसिप आयोजना गर्नेभएको हो ।

प्रतियोगिताको लागि एन्फाले तीव्र गतिमा तयारी अगाडी बढाएको जनाइएको छ । सहभागी सबै टोली  डिसेम्बर ३ तारिखमा नेपाल आइपुग्ने र उनीहरुलाई प्रशिक्षण गर्न च्यासलस्थित च्यासल रङगशाला र भद्रकालीस्थित नेपाली सेनाको खेल मैदानमा व्यवस्था गरिएको छ ।

प्रतियोगिताको मार्केटिङ्ग, ब्रोडकास्टिङ्ग र डिजिटल अधिकार सुश्री मिडिया प्रालिलाई प्रदान गरिएको जनाएको छ ।  प्रतियोगिताको अनुमानित बजेट तिन करोड ७७ लाख ७७ हजार ९० रुपियाँ रहेको र प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ रु ३०० र भीआइपी पारापिटतर्फ र ५०० कायम गरिएको जनाइएको छ ।

प्रतियोगितामा साफसँग आवद्ध पाँच देशका महिला लिग विजेता क्लब एपिएफ फुटबल क्लब नेपाल, इस्ट बङगोल एफसी इन्डिया, नास्रिन स्पोर्ट एकेडेमी बङ्गलादेश, ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी भुटान, कराँची सिटी एफसी पाकिस्तानको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले दश हजार अमेरिकी डलर, उपविजेताले पाँच हजार अमेरिकी डलर र बाँकी तीन सहभागी टिमलाई दुई हजार अमेरिकी डलर प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *