बानेश्वरको ब्यारिगेट तोड्नु अघिसम्मको जेनजी आन्दोलनमा समर्थन छ, त्यसपछि अपहरित भयोः ओली (भिडियो अन्तर्वार्ता)

 

काठमाडौं, २३ मंसिर । नेकपा (एमाले)का अध्यक्षकेपी शर्मा अ‍ोलीले पार्टी भित्रकै केहीले आफूलाई अलोकप्रिय भएको भन्दै नेतृत्व छाड्नु पर्ने भन्दै निरन्तर विरोध गर्न थालेपछि कार्यकर्ताका बिचमा गएर उनीहरुको मतदानमार्फत को बढी लोकप्रिय छ भन्ने बुझ्न कार्यकाल भन्दा अघि नै महाधिवेशनमा गएको बताउनु भएको छ । उहाँको निवास गुण्डुमा मैत्रिन्युजसँग विशेष कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । करीब एक घण्टाको संवादमा उहाँले निर्दलीय सोँचका विरुद्ध पार्टी एकढिक्का भएर लड्नुपर्ने भएकाले पनि एमालेले एक वर्ष अघि महाधिवेशन गर्न लागेको जानकारी दिनुभयो ।

‘म महाधिवेशनबाट प्रतिष्पर्धा गरेर अध्यक्ष भएर आएको व्यक्ति हुँ । मलाई पार्टी कब्जा गर्यो भनेर पार्टी भित्रका केही साथीहरुले भ्रम फैलाउने प्रयास गरेका छन्,’ उहाँले भन्नुभयो, ‘एमाले सबै भन्दा लोकतान्त्रिक पार्टी हो र त्यसका लागि पार्टीमा सबै भन्दा बढी लडेको व्यक्ति हुँ । त्यसैले म लोकतान्त्रिक पद्धतिमा विश्वास गर्छु ।’

उहाँले पार्टी भित्र जसले जे पायो त्यहि गतिविधि गर्ने छुट नभएको भन्दै पार्टी भित्र आफ्नो कसैसँग प्रतिस्पर्धा नभएको र नहुने पनि स्पष्ट पार्नुभयो । ‘निर्वाचनका पक्षधर, न्यायिक पक्षधर र निष्पक्षताका पक्षधर हुँ भन्नेहरुलाई पनि एमालेको महाधिवेशनमा पर्यवेक्षक राखेर निष्पक्ष निर्वाचनको पर्यवेक्षण गर्न चुनौति दिन्छु,’ उहाँले एमाले महाधिवेशनमा धाँदली हुने भन्दै चर्चा गर्नेहरुप्रति लक्षित गर्दै भन्नुभयो, ‘एमालेको महाधिवेशन भनेको आन्तरिक जीवनको प्रतिस्पर्धा हो । यो महाधिवेशनमा ढुक्कका साथ भन्न सक्छु । मेरो पक्षधर होइन निष्पक्ष मान्छेले पर्यवेक्षण गरे हुन्छ ।’

उहाँले आगो लगाउनेहरुले देश चलाउन पाउनुपर्छ भन्ने निर्दलीयता र अराजक अवस्था एमालेलाई स्वीकार्य नहुने पनि प्रष्ट पार्नुभयो ।‘देश चलाउने र पार्टी चलाउने फरक कुरा हुन् । भिजन बेग्लै कुरा हो प्रधानमन्त्री बन्ने कुरा बेग्लै हो । म काम गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छु,’ उहाँले भन्नुभयो, ‘चुनौति के हो र समाधान कसरी गर्ने भन्ने बारेमा बढी सोच्छु ।’

उहाँले आफुसँग भेट्ने सबैले विरोध नगर्ने भन्दै स्वार्थपे्ररित र परिचालितहरुले मात्रै बाहिर गएर विरोध गर्ने गरेको प्रष्ट पार्नुभयो । उहाँले भाडाका मान्छेहरुले महान भएर आफ्ना बारेमा नकरात्मक कमेन्ट ठोकिदिने गरेको पनि प्रष्ट पार्नुभयो ।

उहाँले माओवादीको सन्र्दभमा करीब २५ वर्ष अघि भनेको सन्र्दभ कोट्याउँदै भन्नुभयो– ‘मैले २०५६ सालतिरै हिमाल खवर पत्रिकामा माओवादीको युद्धलाई हिंसा हो भनेको थिएँ । उनिहरुको उग्रवामपन्थताको विरोध गरेको थिएँ । अहिले ठ्याक्कै त्यति भएको छ ।’

उहाँले सिंहदरबार, संसद भवन, सर्वोच्च, सरकारी भवन, उद्योग र व्यक्तिको घरमा आगो लगाउनेहरु माओवादीले रोपेको हिंसाको बिउ भएको भन्दै आफु २० वर्ष अघि माओवादीको राजनीति समाधानको होइन समस्या सिर्जना गर्ने हो भनेको पनि स्मरण गर्नुभयो र त्यो पुष्टि भैरहेको उल्लेख गर्नुभयो । उहाँले बानेश्वरको ब्यारिगेट तोड्नु अघिसम्मको जेनजी आन्दोलनप्रति समर्थन छ भन्दै त्यसपछि आन्दोलन अपहरित भएको पनि स्मरण गराउनुभयो ।

संवादकै क्रममा उहाँले संसद भवनमा आगजनी गर्न थालेपछि त्यसलाई रोक्नु सुरक्षाकर्मीको दायित्व भएको उल्लेख गर्नुभयो । जेनजी आन्दोलनपछि भनेको सरकार असंवैधानिक भएको उहाँको भनाई छ ।

‘हाम्रो पार्टी लोकतन्त्रका लागि लडेको पार्टी हो त्यसैले यो पार्टी चुनावको विपक्षमा छैन । तर, हुने वातावरणका लागि ठोस काम हुनुपर्ने हो भैरहेको छ । त्यहि कारण हामीले संसदपुर्नस्थापना भनेका हौँ,’ उहाँले भन्नुभयो, ‘विकास हाम्रो संकल्प हो । लोकतन्त्रप्रतिको हाम्रो विश्वास हामी छाड्न सक्दैनौँ ।’

संवादकै क्रममा उहाँले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीप्रति केही गुनासो व्यक्त गर्नुभयो । ‘मैले विद्या भण्डारीप्रति जे विश्वास गरेको थिएँ । उहाँलाई जे देखेको थिएँ । जे बुझेको थिएँ । जे ठानेको थिएँ,’ उहाँले भन्नुभयो, ‘तर, उहाँमा एउटा पर्दा च्यातिएपछि, एउटा पर्दा हटेपछिको जस्तो अनौठो दृष्य देख्दा म आश्चर्यचकित भएँ ।’